पोखरा ११, फागुन । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ स्थित भैंसिगौडामा गएराति भएको भीषण बस दुर्घटनामा परी १७ जना यात्रुको मृत्यु भएको छ भने अन्य २४ जना गम्भीर घाइते भएका छन् । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस मध्यराति करिब साढे १ बजे अनियन्त्रित भई पृथ्वी लोकमार्गबाट त्रिशूली नदीको किनारमा खसेको थियो । दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष टोली घटनास्थलमा परिचालन गरिएको थियो । उद्धार कार्यमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले पनि सक्रियताका साथ समन्वय गरिरहेका छन् ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालहरूमा पठाइएको छ । मृत्यु भएका १७ जनाको शव अहिले घटनास्थलमै रहेको र कानुनी प्रक्रिया पूरा गर्ने तयारी भइरहेको छ । मध्यरातिको समय र भौगोलिक विकटताका कारण उद्धार कार्यमा निकै चुनौती थपिएको सुरक्षाकर्मीहरूले जानकारी दिएका छन् । हालसम्म मृतक तथा घाइतेहरूको आधिकारिक सनाखत हुन सकेको छैन भने दुर्घटना हुनुको ठोस कारण अझै खुल्न सकेको छैन । स्थानीय प्रशासन र सुरक्षा निकायले घटनास्थलमा रहेर थप अनुसन्धान र बाँकी रहेका यात्रुहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0