पोखरा ७, फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवस फागुन ७ को अवसरमा बुधबार आठ मिनेट लामो भिडियो सन्देश जारी गर्दै वर्तमान निर्वाचन प्रक्रियालाई अस्वीकार गरेका छन् र राष्ट्रिय समस्याको समाधानका लागि सर्वपक्षीय समझदारी अपरिहार्य रहेको जोड दिएका छन् । सन्देशमा उनले प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पुर्याउने राजा त्रिभुवन र सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको बलिदानलाई स्मरण गरेका छन् ।
केही महिना झापामा बसेर काठमाडौं फर्किँदा गत फागुन २१ मा सर्वसाधारण आदिवासी जनजाति र नागरिक समाजले देखाएको भव्य स्वागतप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरे । स्वागत कार्यक्रमको संयोजन गरेका दुर्गा प्रसाईं अहिले सरकारको हिरासतमा रहेको उल्लेख गर्दै उनले यस्ता घटनाप्रति चिन्ता पनि व्यक्त गरेका छन् । देश अहिले असामान्य र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउँदै पूर्वराजाले द्वन्द्व रोक्न र सद्भाव कायम गर्न सबैले एकजुट भएर प्रयास गर्नुपर्नेमा जोड दिए । ‘देशको अस्मिता र अस्तित्व नै संकटमा परेको महसुस जनताले गरेका छन्’ उनले भनेका छन् ।
प्रजातन्त्रमा संवैधानिक प्रक्रिया र आवधिक निर्वाचन आवश्यक रहे पनि अहिलेको अवस्थामा राष्ट्रिय समस्याको समाधान नभएसम्म निर्वाचनमा जानु उचित नहुने उनको तर्क छ । ‘प्रजातन्त्रमा राजनीतिक प्रक्रिया संवैधानिक मान्यताअनुसार चल्नुपर्छ आवधिक निर्वाचन स्वाभाविक पनि हो’ उनले भने ‘तर अहिले पहिलो शर्त राष्ट्रिय समस्याको समाधान हो सर्वपक्षीय पहल गरेर मात्र निर्वाचनमा जानु उपयुक्त हुन्छ फेरि अर्को द्वन्द्व हुन नदिन सबैलाई समझदारीमा ल्याएर मात्र निर्वाचन गर्दा देश सही बाटोमा लाग्थ्यो ।’ अधिकार मात्र खोज्ने तर कर्तव्य निभाउने प्रवृत्ति बढेको भन्दै उनले सबैलाई कर्तव्यबोधका आधारमा देशलाई संकटबाट निकाल्न आह्वान गरेका छन् ।
देशको भूगोल प्राकृतिक बनावट र संस्कृतिअनुसारको प्रणालीबाट मात्र स्थायित्व सम्भव हुने उनको भनाइ छ । कुनै पनि व्यवस्थाका राम्रा पक्षलाई कायम राख्दै खराब पक्ष सुधार गर्दै जनताको जीवन सरल बनाउँदै लानुपर्छ । प्रजातन्त्रमा सबै विचार संस्कार र परम्पराको सम्मान हुनुपर्नेमा पनि उनले जोड दिए । देश अहिले अस्वाभाविक छटपटी र अस्थिरताको भुमरीमा फसेको बताउँदै विगतका आन्दोलन र परिवर्तनले नेपाल र नेपालीलाई के दिए भन्ने समीक्षा गर्नुपर्ने उनले औंल्याए । अहिलेको मुख्य शत्रु विपन्नता र अस्थिरता रहेको भन्दै सामाजिक मूल्य संस्कार र विविध विचारको सम्मान गर्दै राष्ट्र र समाजको सेवामा सबै अग्रसर हुनुपर्ने उनको आग्रह छ ।


































