पोखरा ५, फागुन । लन्डनस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवसको अवसरमा आयोजित एक विशेष समारोहमा ब्रिटिश सेनाका चिफ अफ स्टाफ, मेजर जनरल कार्ल बोसवेलले नेपाली सेनाको गौरवशाली इतिहास र कार्यकुशलताको उच्च प्रशंसा गरेका छन् । प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै बोसवेलले नेपाली सेनालाई उत्कृष्टताका लागि विश्वव्यापी प्रतिष्ठा कमाएको एक विशिष्ट सैन्य संस्थानको रूपमा चित्रण गरे । उनले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्याएको असाधारण योगदानको चर्चा गर्दै बेलायती सेनाले यस समर्पणलाई उच्च सम्मान दिने बताए । नेपाली शान्ति सेनाले विश्वका अत्यन्तै जटिल र चुनौतीपूर्ण परिस्थितिमा प्रदर्शन गर्ने अनुशासन र सहानुभूतिले अन्तर्राष्ट्रिय स्तरमै प्रशंसा कमाएको उनको भनाइ थियो । उनले हालैका उच्चस्तरीय सैन्य भ्रमणहरूले दुई देशका सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाएको विश्वास समेत व्यक्त गरे ।
मेजर जनरल बोसवेलले सन् २०२५ मा बेलायतको वेल्समा आयोजित विश्वकै कठिन सैन्य अभ्यास ‘क्याम्ब्रियन पट्रोल एक्सरसाइज’ मा नेपाली सेनाले स्वर्ण पदक जितेको प्रसङ्ग उल्लेख गर्दै यसले नेपाली सैनिकको सहनशीलता र रणनीतिक सीपलाई प्रमाणित गरेको बताए । बेलायती गोर्खा सैनिकहरूलाई बहादुरी र वफादारीको पर्याय मान्दै उनले गोर्खाहरू नेपाल र संयुक्त अधिराज्य बीचको गहिरो मित्रताको जीवन्त प्रतीक रहेको उल्लेख गरे । दुई शताब्दीभन्दा लामो ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै उनले संयुक्त तालिम, विपद् व्यवस्थापनमा सहयोग र अन्तर्राष्ट्रिय नियममा आधारित व्यवस्थाप्रतिको साझा प्रतिबद्धता नै यो दिगो साझेदारीको आधार रहेको प्रष्ट पारे । समारोहमा बोसवेल र कार्यवाहक राजदूत विपिन दुवाडीले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रममा कार्यवाहक राजदूत दुवाडीले सीमा रक्षादेखि प्राकृतिक प्रकोपको समयमा मानवीय सहयोगसम्म नेपाली सेनाले खेल्दै आएको भूमिकाको स्मरण गरे । त्यस्तै, सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले स्वागत मन्तव्य दिँदै नेपाली सेनाले राष्ट्र निर्माण र सन्तुलित सैन्य कूटनीतिमा हासिल गरेको उपलब्धिका बारेमा जानकारी गराए । उनले नेपाल हाल संयुक्त राष्ट्रसंघमा सबैभन्दा बढी सेना पठाउने मुलुकको सूचीमा पहिलो स्थानमा रहेको र आवश्यकता परेमा १० हजारसम्म शान्ति सेना उपलब्ध गराउन तयार रहेको प्रतिवद्धता दोहोर्याए । उच्च पदस्थ सैनिक अधिकारीहरू र विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त समारोहमा नेपाली सेनाको वीरताको कदर गर्दै केक समेत काटिएको थियो, जसले दुई देशबीचको सैन्य सम्बन्धलाई थप सुमधुर बनाएको छ ।


































