पोखरा ५, फागुन । अमेरिका र इरानका अधिकारीहरूबीच आज मंगलबार स्विट्जरल्याण्डको जेनेभामा दोस्रो चरणको महत्त्वपूर्ण वार्ता हुने तयारी भइरहँदा मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थितिले नयाँ मोड लिएको छ । वासिङ्टनले इरानको सैन्य कार्यक्रम र नागरिक प्रदर्शनमाथि भएको दमनका विरुद्ध दबाब बढाउने रणनीति अन्तर्गत ‘यूएसएस अब्राहम लिंकन’ नामको विशाल विमानवाहक युद्धपोतलाई इरान नजिकै तैनाथ गरेको छ । युरोपेली सेन्टिनेल–२ उपग्रह तस्वीरहरूले यो युद्धपोत ओमानको तटबाट करिब २४० किलोमिटर र इरानको सीमाबाट ७०० किलोमिटर टाढा अरब सागरमा रहेको पुष्टि गरेको छ । जनवरीको अन्त्यतिर खाडी क्षेत्रमा पठाइएको भनिए पनि यो युद्धपोत हालै मात्र उपग्रहको राडारमा देखिएको हो । बीबीसीका अनुसार यो युद्धपोतले एक शक्तिशाली ‘क्यारियर स्ट्राइक ग्रुप’को नेतृत्व गरिरहेको छ, जसमा तीनवटा मिसाइल विनाशक, एफ–३५ लडाकु विमानसहित ९० वटा विमान र ५ हजार ६८० सैनिकहरू सवार छन् ।
यस सैन्य तैनाथीको शृङ्खला यतिमा मात्र सीमित छैन । विश्वकै ठूलो युद्धपोत मानिने ‘यूएसएस जेराल्ड आर फोर्ड’ पनि आगामी तीन साताभित्र मध्यपूर्व पुग्ने गरी प्रस्थान गरिसकेको छ । बीबीसी भेरिफाइले उपग्रह तस्वीरमार्फत हाल १२ वटा अमेरिकी युद्धपोत यस क्षेत्रमा सक्रिय रहेको पहिचान गरेको छ । तीमध्ये तीनवटा आर्ले बर्क श्रेणीका विनाशक र लामो दूरीको मिसाइल प्रहार गर्न सक्ने अन्य युद्धपोतहरू बहराइनस्थित नौसैनिक अड्डामा तैनाथ छन् । समुद्री क्षेत्रका अतिरिक्त जोर्डनको मुवाफ्फाक सल्ती सैन्य अड्डामा अमेरिकी एफ–१५ र ईए–१८ लडाकु विमानहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको देखिएको छ । अमेरिका र युरोपबाट कार्गो र इन्धन आपूर्ति गर्ने विमानहरूको निरन्तर आवागमनले यस क्षेत्रमा अमेरिकी सैन्य गतिविधि दशकयताकै उच्च विन्दुमा पुगेको संकेत गर्दछ ।
यसरी एकातिर सैन्य शक्ति प्रदर्शन भइरहँदा अर्कोतिर जेनेभामा कुटनीतिक संवादको तयारी हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । इरानले यस वार्तामा आफ्नो मुख्य एजेन्डा आणविक कार्यक्रममाथिको प्रतिबन्ध हटाउने र आर्थिक राहत पाउने विषय रहने बताएको छ । तर, अमेरिकी पक्षले भने आणविक कार्यक्रमका साथै इरानको ब्यालिस्टिक मिसाइल क्षमता र क्षेत्रीय सुरक्षाका अन्य मुद्दाहरूमा पनि छलफल गर्न चाहेको बीबीसीले जनाएको छ । विश्लेषकहरूका अनुसार वार्ताको पूर्वसन्ध्यामा गरिएको यो भारी सैन्य तैनाथीले इरानलाई सम्झौताका लागि बाध्य पार्ने वासिङ्टनको प्रयास हुन सक्छ, तर यसले क्षेत्रमा थप तनाव र मुठभेडको जोखिम पनि बढाएको छ ।


































