पोखरा ४, फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस स्याङ्जाले आफ्नो विस्तृत संकल्पपत्र सार्वजनिक गरेको छ। जिल्लाका दुई निर्वाचन क्षेत्रका उम्मेदवारद्वय भरतराज ढकाल र भागवत प्रकाश मल्लले स्याङ्जालाई देशकै नमूना जिल्ला बनाउने मार्गचित्रसहित शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर आफ्ना योजनाहरू अघि सारेका हुन्। संकल्पपत्र सार्वजनिक गर्ने क्रममा उम्मेदवारहरूले अबको विकास केवल भाषण र नारामा मात्र सीमित नभई व्यवहारमा देखिने दाबी गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले विशेष गरी युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्न र जिल्लाको आर्थिक मेरुदण्डलाई बलियो बनाउन नयाँ भिजन प्रस्तुत गरेका छन्।

संकल्पपत्रमा पूर्वाधार विकासअन्तर्गत सिद्धार्थ राजमार्गलाई ‘डेडिकेटेड टु-लेन’मा स्तरोन्नति गर्ने र आँधीखोला बहुउद्देश्यीय विद्युत् परियोजनालाई पूर्णता दिने योजनालाई उच्च प्राथमिकता दिइएको छ। कृषि क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन बाँदरको वैज्ञानिक व्यवस्थापन, बाँझो जमिन उपयोगका लागि साझेदारी कृषि प्रणाली र कृषकका सन्तानलाई विशेष छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ। पर्यटनतर्फ स्वरेक मैदानलाई अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र बनाउने र जिल्लाका प्रमुख धार्मिक एवं ऐतिहासिक स्थलहरूलाई पर्यटकीय सर्किटमा जोड्ने योजना समेटिएको छ। साथै, स्वास्थ्य सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउन प्रत्येक वडामा विशेषज्ञसहितको क्लिनिक र शतप्रतिशत स्वच्छ खानेपानीका लागि ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिइने संकल्प गरिएको छ। आर्थिक समृद्धिका लागि सबै मतदाताको स्वामित्व रहने गरी एक वृहत् पब्लिक कम्पनी स्थापना गर्ने नवीन प्रस्तावले स्याङ्जाली मतदातामाझ नयाँ बहस सिर्जना गरेको छ। बीपी कोइरालाको आर्थिक र समाजवादी सोचलाई वर्तमान समयको आवश्यकतासँग जोड्दै प्रस्तुत गरिएको यो संकल्पपत्रले स्याङ्जाको भविष्य बदल्ने उम्मेदवारहरूको दृढतालाई झल्काएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0