पोखरा ४, फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने’ र ‘देश जलाउने’ शक्तिहरूबीचको निर्णायक महासंग्रामको संज्ञा दिनुभएको छ। झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँग आयोजित भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यो निर्वाचन केवल जनप्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई विकासप्रेमी र विकास विरोधी तत्वहरू बीचको लडाइँ भएको बताउनुभयो। उहाँले आफ्नो कार्यकालमा धिमाल जातिको संग्रहालय, होमस्टे र सडक पूर्वाधारका लागि विनियोजन गरिएको करोडौंको बजेट वर्तमान सरकारले अनधिकृत रूपमा काटेको भन्दै कडा आक्रोश व्यक्त गर्नुभयो।

अध्यक्ष ओलीले धिमाल होमस्टेका लागि छुट्याइएको ३ करोड बजेट आफू सरकारबाट हटेपछि काटिएको आरोप लगाउँदै वर्तमान सत्ता गठबन्धनले मुलुकको विकासलाई अवरुद्ध पारेको दाबी गर्नुभयो। उहाँले निर्वाचनमा आफूसँग प्रतिस्पर्धा गर्न आउनेहरू नै बजेट काट्ने र देशमा अस्थिरता फैलाउने समूहको हिस्सा भएको उल्लेख गर्दै त्यस्ता शक्तिहरूलाई चिन्न र निर्वाचनमा परास्त गर्न मतदाताहरूलाई आग्रह गर्नुभयो। विकासका योजनाहरू कटौती गर्नेहरूलाई प्रोत्साहित गर्नु देशकै लागि घातक हुने बताउँदै ओलीले आसन्न निर्वाचन मार्फत जनताले राष्ट्रवादी र विकासमुखी शक्तिलाई नै साथ दिने विश्वास व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0