पोखरा १, फागुन । पर्यटकीय राजधानी पोखरामा विगत दुई सातादेखि ठप्प रहेको फोहर सङ्कलन कार्य बिहीबार साँझदेखि पुनः सुरु भएको छ। बजारका मुख्य चोक, सडक किनार र गल्लीहरूमा फोहरको थुप्रो लागेर दुर्गन्ध फैलिएपछि नागरिकस्तरबाट चर्को आलोचना भइरहेको सन्दर्भमा महानगरपालिकाले फोहर उठाउन थालेको हो। पोखरा–३२ लामेआहालस्थित अस्थायी फोहर व्यवस्थापन केन्द्र भरिएपछि र नयाँ विकल्प फेला नपर्दा फोहर सङ्कलन प्रभावित भएको थियो। महानगर प्रमुख धनराज आचार्यले विभिन्न निकाय र राजनीतिक दलहरूसँगको समन्वयपछि तत्कालका लागि व्यवस्थापनको केही प्रबन्ध गरिएको र शनिबारसम्ममा सहरका सबै फोहर उठाइसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

महानगरले फोहर उठाउन सुरु गरे पनि त्यसको अन्तिम विसर्जन कहाँ गरिँदैछ भन्नेबारे भने आधिकारिक रूपमा खुलाएको छैन। पछिल्लो समय जेन-जी आन्दोलनका क्रममा निक्लेको ठूलो परिमाणको फोहरले लामेआहालको क्षमता नाघेको थियो। महानगरले पोखरा–३३ मा स्थायी प्रशोधन केन्द्र निर्माणको प्रक्रिया अघि बढाए पनि स्थानीय बासिन्दाको कडा विरोध र अवरोधका कारण काम अघि बढ्न सकेको छैन। बुधबार सम्पन्न सर्वदलीय बैठकमा दलहरूले फोहर व्यवस्थापनमा राजनीतिकरण नगर्ने र ७२ घण्टाभित्र सहर सफा गर्ने सहमति गरेका थिए। महानगरले हालका लागि सार्वजनिक स्थानमा फोहर नफाल्न अपिल गर्दै जथाभाबी फोहर फाल्नेलाई स्थलमै कारबाही गर्ने चेतावनी समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0