पोखरा १, फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा कास्की जिल्लाका ५ स्थानीय तहमध्ये माछापुच्छ्रे गाउँपालिका उत्कृष्ट घोषित भएको छ । आयोगले आर्थिक वर्ष २०८१/८२ को बजेट व्यवस्थापन, राजस्व परिचालन र सेवा प्रवाहका विभिन्न सूचकहरूलाई आधार मानी गरेको मूल्यांकनमा माछापुच्छ्रेले ७०.०८ अंक प्राप्त गर्दै जिल्लाभरिमै पहिलो स्थान सुरक्षित गरेको हो । यस नतिजाले ग्रामीण क्षेत्रका स्थानीय तहहरूले प्रशासनिक र वित्तीय अनुशासनमा शहरी क्षेत्रको तुलनामा राम्रो दख्खल देखाएको पुष्टि गरेको छ ।

आयोगले तयार पारेको १७ वटा विभिन्न सूचकहरूको सूचीमा अन्नपूर्ण गाउँपालिका ६९.५६ अंकका साथ दोस्रो स्थानमा रहन सफल भएको छ । त्यसैगरी, रुपा गाउँपालिकाले ६३.४५ अंक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ भने कास्कीको एकमात्र महानगरपालिका पोखरा महानगरपालिका ५८.७६ अंकका साथ चौथो स्थानमा खुम्चिएको छ । जिल्लाको मादी गाउँपालिका भने ४८.३२ अंकका साथ कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ । स्थानीय तहले असार १० भित्र बजेट ल्याए/नल्याएको, राजस्वको लक्ष्य भेट्टाए/नभेट्टाएको र बेरुजुको अवस्था कस्तो रहेको भन्ने विषयलाई मूल्यांकनको कसिलो आधार बनाइएको थियो ।

यस मूल्यांकनमा केवल वित्तीय पक्षलाई मात्र नभई शिक्षा र स्वास्थ्य जस्ता सामाजिक क्षेत्रलाई पनि उच्च प्राथमिकता दिइएको थियो । कक्षा ९ मा विद्यार्थी टिकाउ दर, खोपको पहुँच र महिलाको स्वास्थ्य जाँच जस्ता सूचकहरूले माछापुच्छ्रे र अन्नपूर्णलाई अग्रस्थानमा पुर्‍याउन मद्दत गरेका छन् । आयोगले सार्वजनिक गर्ने यो वार्षिक नतिजा स्थानीय तहका लागि निकै महत्वपूर्ण मानिन्छ, किनभने यसकै आधारमा संघीय सरकारले प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको परिमाण निर्धारण हुने गर्दछ । कमजोर देखिएका स्थानीय तहहरूले आगामी दिनमा सुशासन र सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने सन्देश यस नतिजाले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0