पोखरा १, फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २० दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले दुर्गम क्षेत्रहरूमा मतपत्र ढुवानीको कार्यलाई तीव्रता दिएको छ । आयोगले शुक्रबारदेखि कर्णाली प्रदेशका १० वटा जिल्लामा रहेका १२ वटा निर्वाचन क्षेत्रका लागि मतपत्र पठाउन सुरु गरेको हो । मतपत्र छपाइको काम तोकिएको समयमै सम्पन्न भएपछि आयोगले सल्यान, पश्चिम रुकुम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत जस्ता भौगोलिक रूपमा विकट जिल्लाहरूलाई प्राथमिकतामा राखेर ढुवानी थालेको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले जानकारी दिएका छन् ।
आयोगका अनुसार हालसम्म देशभरका ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छपाइ कार्य सफलतापूर्वक सम्पन्न भइसकेको छ । प्रत्यक्षतर्फको कुल १ करोड ५७ लाख ७८ हजार थान मतपत्र छाप्ने काम सकिएको छ भने समग्रमा २ करोड ३ लाख २३ हजार मतपत्र छाप्ने लक्ष्य रहेको छ । कर्णालीबाहेक सुदूरपश्चिमका सबै जिल्लाहरू र कोशी प्रदेशका अधिकांश जिल्लाहरूको पनि मतपत्र तयार भइसकेको छ । त्यसैगरी गण्डकी, लुम्बिनी र बागमती प्रदेशका धेरै जिल्लाहरूमा पनि मतपत्र ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।
हाल भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र प्याकिङ र छपाइको काम द्रुत गतिमा भइरहेको छ । त्यहाँ दैनिक करिब १ हजार बाकस मतपत्र प्याकिङ गर्ने गरिएको छ भने दैनिक १३ देखि १५ लाख थान मतपत्र छाप्ने काम भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार थान मतपत्र त माघ १३ गते नै छापेर ढुवानीका लागि तयारी अवस्थामा राखिसकिएको आयोगले जनाएको छ । निर्वाचनलाई निष्पक्ष र समयमै सम्पन्न गराउन आयोगले यसअघि नै देशभर १० लाखभन्दा बढी नमुना मतपत्रहरू पठाइसकेको छ ।


































