पोखरा २८, माघ। गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा न्युरोडस्थित मुख्य कार्यालयमा भएको आगजनी र तोडफोडपछि पोखरा महानगरपालिकाले आफ्नो सम्पूर्ण प्रशासनिक सेवाहरू नयाँबजारस्थित राष्ट्रिय वाणिज्य बैंकको भवनबाट एकीकृत रूपमा सञ्चालनमा ल्याएको छ। छुट्टाछुट्टै स्थानबाट सेवा प्रवाह गर्दा नगरवासीले भोग्नुपरेको सास्तीलाई दृष्टिगत गर्दै महानगरले बैंकको पहिलो र दोस्रो तल्ला भाडामा लिएर सेवा सुरु गरेको एक महिना पुगिसकेको छ। यसअघि छरिएर रहेका पूर्वाधार, आर्थिक विकास र प्रज्ञा प्रतिष्ठान जस्ता महाशाखाहरूलाई एउटै छानामुनि ल्याउँदा सेवाग्राहीलाई सहज हुनुका साथै महानगरले बाहिर तिर्नुपर्ने मासिक भाडामा समेत कटौती भएको सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिनुभयो।

महानगरले राष्ट्रिय वाणिज्य बैंकसँग ‘सरकारदेखि सरकार’ (G2G) मोडलमा ३ वर्षका लागि सम्झौता गरेको छ। कुल २२ हजार ५ सय स्क्वायर फिट क्षेत्रफल ओगटेको यो नयाँ कार्यालयको मासिक भाडा ७ लाख ८७ हजार ५ सय रुपैयाँ तय गरिएको छ। महानगरका अनुसार राजस्व, प्रशासन र योजना लगायतका प्रमुख महाशाखाहरू यसअघि नै सरिसकेका छन् भने मेयर धनराज आचार्यको सचिवालय पनि बुधबारदेखि यहीँबाट सञ्चालन हुने तयारीमा छ। यद्यपि, आफ्नै भवन भएका शिक्षा र स्वास्थ्य जस्ता केही महाशाखाहरू भने साविककै स्थानबाट सञ्चालन भइरहनेछन्।

अस्थायी रूपमा बैंकको भवनबाट कार्यसम्पादन भइरहे पनि महानगरले आफ्नै सुविधासम्पन्न प्रशासकीय भवन निर्माणको प्रक्रिया समेत अघि बढाएको छ। हाल आगजनी भएको न्युरोडस्थित जग्गामा व्यावसायिक कम्प्लेक्स बनाउने वा महानगरको नयाँ भवन बनाउने भन्नेबारे विमर्श भइरहेको छ। अर्कोतर्फ, पोखरा-१७ स्थित गल्फ कोर्सको जग्गामा करिब २ अर्बको लागत अनुमानसहित नयाँ भवनको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भइसकेको भए पनि लागत घटाएर निर्माण प्रक्रिया अघि बढाउने गृहकार्य भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0