पोखरा २८, माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा गण्डकी प्रदेशका ११ वटै जिल्लामा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। हिमाल, पहाड र तराई समेटिएको यस प्रदेशका १८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन गाउँबस्तीमा पुगेका छन्। उत्तरमा चीनको कोराला नाकादेखि दक्षिणमा भारतको त्रिवेणीसम्म जोडिएको यो प्रदेश रणनीतिक रूपमा पनि महत्त्वपूर्ण मानिन्छ। यसपटकको निर्वाचनमा मतदाताहरूले परम्परागत विकासका नाराभन्दा पनि जलवायु परिवर्तन, कृषिमा सुधार, पर्यटन प्रवर्द्धन र भौतिक पूर्वाधारका ठोस योजनाहरूमा उम्मेदवारहरूको प्रतिबद्धता खोजिरहेका छन्। विशेषगरी हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर असर अहिलेको निर्वाचनको प्रमुख मुद्दा बनेको छ।
मुस्ताङको ठिनीका स्थानीय युवा निरज थकालीका अनुसार हिमाली भेगमा जलवायु परिवर्तनका कारण कृषि प्रणालीमा ठूलो प्रभाव परेको छ, जसले गर्दा विगतमा हुने गरेका खेतीपातीहरू हुन छाडेका छन्। कृषकहरूले भोगिरहेको यो समस्या न्यूनीकरणका लागि राज्यको ठोस नीतिको माग स्थानीयले गरेका छन्। यसका साथै हिमाली जिल्लाहरूमा दशकौँदेखि रहेको अव्यवस्थित जग्गाको नापी र सुकुम्बासी समस्या पनि उम्मेदवारहरूका लागि चुनौती बनेको छ। पर्यटन व्यवसायीहरूले भने गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने कोराला नाकालाई सुव्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने मागलाई अघि सारेका छन्। गण्डकी प्रदेशमा प्रचुर पर्यटकीय सम्भावना भए पनि उपल्लो मुस्ताङ जस्ता क्षेत्रलाई अझै अर्धनिषेधित कायम गरिनुले विदेशी पर्यटकको आगमनमा असर पारेको उनीहरूको गुनासो छ।
त्यस्तै, कृषकहरूले सिँचाइको अभाव, नदी कटान र पछिल्लो समयमा देखा परेको बाँदरको आतङ्कलाई चुनावी मुद्दा बनाएका छन्। कास्कीका अगुवा कृषक रमेश आचार्यका अनुसार खेतीयोग्य जमिन बगरमा परिणत भइरहेको अवस्थामा सिँचाइ र तटबन्धनका लागि उम्मेदवारको प्रतिबद्धता अनिवार्य छ। नवलपुरका बासिन्दाले भने आफ्नै प्रदेशको राजधानी पोखरा आउन अर्को प्रदेश (बागमती) हुँदै घुमेर आउनुपर्ने बाध्यता अन्त्य गर्न नवलपुर–भिमाद–पोखरा सडकको स्तरोन्नतिलाई मुख्य माग बनाएका छन्। प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार गण्डकी प्रदेशमा यसपटक कुल १८ लाख ७० हजार ६५ मतदाता रहेका छन्, जसमा महिलाको सङ्ख्या पुरुषको तुलनामा बढी छ। प्रदेशमा सबैभन्दा धेरै मतदाता कास्कीमा २ लाख ९३ हजार ८८ जना छन् भने सबैभन्दा कम मनाङमा ६ हजार ८ सय ४९ जना रहेका छन्। २१ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूबीचको यो प्रतिस्पर्धाले गण्डकीको आगामी समृद्धिको दिशा तय गर्ने अपेक्षा गरिएको छ।


































