पोखरा २८, माघ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन सुनिश्चित रहेको बताउँदै पार्टी पंक्तिलाई पूर्ण रूपमा निर्वाचन तयारीमा होमिन निर्देशन दिएका छन् । पोखरामा आज आयोजित पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन हुने वा नहुने भन्ने खालका कुनै पनि द्विविधामा नरहन आग्रह गरे । उनले अबको तीन हप्ताको समय पार्टीको प्रचारप्रसार र जनपरिचालनमा केन्द्रित गर्न नेता तथा कार्यकर्ताहरूलाई विशेष अपिलसमेत गरेका छन् ।

मुलुकमा विकसित ‘जेन-जी’ आन्दोलनपछिको असाधारण परिस्थितिमा हुन लागेको यो निर्वाचन निकै महत्त्वपूर्ण रहेको बताउँदै संयोजक दाहालले यसको परिणाम नेकपाको पक्षमा ल्याउन देशभरका शुभेच्छुकहरू सक्रिय हुनुपर्नेमा जोड दिए । उनले भने, “निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न आजैदेखि गाउँ-गाउँ र टोल-टोलमा पुगेर आफ्ना उम्मेदवारलाई जिताउन सक्रिय हुनुहोस् ।” यो निर्वाचनले मुलुकको नयाँ राजनीतिक दिशा तय गर्ने भएकाले कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिन उनले आग्रह गरे ।

विपक्षीहरूले निर्वाचनको अन्तिम समयमा नेकपाले अन्य दलसँग चुनावी तालमेल गरी आफ्ना उम्मेदवारी निष्क्रिय बनाउन सक्ने भनी भ्रम फैलाउन सक्ने उल्लेख गर्दै उनले त्यस्ता हल्लाको पछाडि नलाग्न सचेत गराए । संयोजक दाहालले नेकपा अहिलेको निर्वाचनमा कुनै पनि प्रकारको समीकरण वा गठबन्धन गर्ने पक्षमा नरहेको स्पष्ट पारे । पार्टी आफ्नै एजेन्डा र खुट्टामा उभिएर आम जनताको विश्वास जित्दै संसद्मा सबैभन्दा ठूलो शक्तिको रूपमा उदाउन चाहेको उनको दाबी थियो । उनले कार्यकर्ताहरूलाई चुनावी रणनीतिमा केन्द्रित रहँदै विपक्षीका भ्रम चिर्न र आफ्ना नीतिहरू जनतामाझ लैजान दृढतापूर्वक निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0