पोखरा २२, माघ। नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र र भुईं तहका महाधिवेशन प्रतिनिधिहरूको संवैधानिक शक्ति कति सर्वशक्तिमान हुन्छ भन्ने कुरालाई विश्वसामु प्रमाणित गरिदिएको छ। यस महाधिवेशनले नेपालको राजनीतिक इतिहासमा केवल एउटा नयाँ अध्याय मात्र थपेको छैन, अपितु मुलुकमा व्याप्त राजनीतिक अन्योल र गतिरोधलाई चिर्दै एक सार्थक हस्तक्षेप समेत गरेको छ। यस युगीन परिवर्तनका प्रमुख संवाहकका रूपमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा उभिएका छन्। नेपाली कांग्रेसले स्थापनाकालदेखि नै नागरिक अधिकार, लोकतान्त्रिक बहुदलीय व्यवस्था, शान्ति सम्झौता र संविधान निर्माणको नेतृत्व गर्दै आएको भए तापनि पछिल्लो समयमा देखा परेको वैचारिक जडता र पुस्तागत असन्तोषले पार्टीलाई रक्षात्मक अवस्थामा पुर्याएको थियो। गत भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ ले सृजना गरेको कम्पनले कांग्रेसभित्र विधिवत् रूपान्तरणको अपरिहार्यतालाई स्पष्ट रूपमा उजागर गरिदियो, जसलाई गगन र विश्वले कुशलतापूर्वक नेतृत्व प्रदान गरे।
गगन–विश्वको यो विद्रोह सडकको अराजक नाराबाट नभई पार्टीको विधान, लोकतान्त्रिक अभ्यास र प्रतिनिधिहरूको विवेकपूर्ण हस्ताक्षरबाट जन्मिएको हो। यसपटकको विशेष महाधिवेशन केवल नेतृत्व परिवर्तनको माध्यम मात्र बनेन, बरु लामो समयदेखि संस्थागत जडतामा फसेको पार्टीलाई वैचारिक र सांगठनिक अनुशासनभित्र ल्याउने महाअभियानको रूपमा स्थापित भयो। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको समर्थनसहित गगन–विश्वले उठाएका नेतृत्वको उत्तरदायित्व, कार्यसम्पादन र पारदर्शी निर्णय प्रक्रियाका प्रश्नहरूले पार्टीको शक्तिशाली समूहलाई सम्मानपूर्वक विश्राम लिन बाध्य तुल्यायो। विशेष महाधिवेशनलगत्तै निर्वाचन आयोगबाट प्राप्त वैधानिकताले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयनमा कांग्रेसलाई नयाँ ऊर्जा प्रदान गर्यो। अत्यन्तै छोटो समयमा १६५ वटै निर्वाचन क्षेत्रमा समावेशी, विज्ञ र पार्टीमा लामो योगदान पुर्याएका उम्मेदवारहरूलाई पारदर्शी रूपमा टिकट वितरण गरिनुले कांग्रेस साच्चिकै बदलिएको सन्देश तल्लो तहका कार्यकर्तासम्म पुगेको छ।
मुलुकको राजनीति सीमित नेताहरूको घेराभित्र बन्दी भइरहेको अवस्थामा कांग्रेसले देखाएको यो निकासले अन्य राजनीतिक दलहरूलाई पनि रूपान्तरणका लागि दबाब सिर्जना गरेको छ। नेकपा एमाले र अन्य वैकल्पिक भनिएका शक्तिहरूले आफ्नो आन्तरिक लोकतन्त्र सुदृढ गर्न नसकिरहेका बेला कांग्रेसले नयाँ नीति र नेतृत्वमार्फत ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने संकल्प अघि सारेको छ। यसले युवा पुस्तामा नयाँ आशा र भरोसा थपिदिएको छ। निर्वाचनपूर्वको गठबन्धन अन्त्य गर्ने, प्रधानमन्त्रीको कार्यकाल दुई पटक मात्र हुने, र सार्वजनिक पदमा बस्नेहरूको सम्पत्ति छानबिन गर्ने जस्ता साहसिक प्रस्तावहरूले शासकीय सुधारको मार्गचित्र कोरेका छन्। केन्द्रीय कार्यसमितिले गगन थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नुले कांग्रेस अब इतिहासको गर्विलो गाथामा मात्र सीमित नभई भविष्यमुखी पार्टी बनेको पुष्टि गर्दछ। अन्ततः, यो विधिवत् विद्रोहले नेपाली कांग्रेसलाई फेरि एकपटक लोकतन्त्रको रक्षा र समाजको रूपान्तरणका लागि अग्रणी शक्तिका रूपमा उभ्याएको छ, जसले नेपालको भविष्यलाई नयाँ दिशा दिने विश्वास आम नागरिकमा पलाएको छ।































