पोखरा १६, माघ। प्रजातन्त्र, राष्ट्रियता र स्वतन्त्रताका लागि आफ्नो प्राण आहुति दिने वीर शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस भव्यताका साथ मनाइँदैछ। वि.सं. १९९७ मा निरंकुश राणा शासनको विरुद्धमा आवाज उठाउँदा सहादत प्राप्त गरेका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको बलिदानको सम्झना गर्दै प्रत्येक वर्ष माघ १६ गते यो दिवस मनाउने परम्परा रहेको छ। शहीद सप्ताहको अन्तिम दिन आज राजधानीको लैनचौरस्थित शहीद उद्यानमा विशेष श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। विहान शान्तिवाटिकाबाट सुरु भएको प्रभातफेरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र शहीदहरूको तस्बिर अंकित बग्गीसहित लैनचौर पुगेर सभामा परिणत भएको थियो, जहाँ प्रधानमन्त्री, मन्त्रीहरू र उच्चपदस्थ सरकारी अधिकारीहरूले शहीदप्रति सम्मान व्यक्त गरेका छन्।
इतिहासको कालखण्डलाई हेर्दा, वि.सं. १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुको खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो भने माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको थियो। त्यसैगरी, माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो। नेपालको पहिलो शहीदका रूपमा लखन थापालाई सम्मान गरिन्छ। वि.सं. २०१२ देखि तत्कालीन काठमाडौँ नगरपालिकाको अगुवाइमा सुरु भएको यो दिवसको गरिमा कायम राख्न सरकारले यस वर्ष सार्वजनिक बिदासमेत दिएको छ। पछिल्लो समय झैझगडा वा दुर्घटनामा ज्यान गुमाउनेहरूलाई पनि शहीद घोषणा गर्ने र आर्थिक सहायता माग्ने प्रवृत्तिका कारण वास्तविक शहीदको भावनामा चोट पुगेको गुनासो जनस्तरबाट बढ्दै गएको छ।
यस वर्षको शहीद दिवसमा अर्को महत्त्वपूर्ण पक्ष ‘जेनजी शहीद दिवस’ को प्रसङ्ग पनि जोडिएको छ। भ्रष्टाचार र अव्यवस्था विरुद्ध गत भदौ २३ गतेदेखि युवा पुस्ताले गरेको आन्दोलनले तत्कालीन सरकार परिवर्तन भएको थियो। सो आन्दोलनमा ज्यान गुमाएका ७६ जनाको सम्मानमा वर्तमान अन्तरिम सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरिसकेको छ। यद्यपि, शहीदका सपनाहरू अझै पूरा हुन नसकेको र शहीदको परिभाषालाई स्पष्ट बनाउनुपर्ने आवाजहरू नागरिक समाजबाट निरन्तर उठिरहेका छन्। औपचारिक कार्यक्रमहरूमा शहीदको मार्गमा हिँड्ने प्रतिबद्धता जनाइए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको भन्दै कतिपयले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।






























