पोखरा १४, माघ। पोखरा रंगशालाको भलिबल कोर्टमा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबमाथि सानदार जित दर्ता गरेको छ। मंगलबार भएको पुरुषतर्फको रोमाञ्चक भिडन्तमा गण्डकीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै घरेलु दर्शकलाई उत्साहित बनाएको हो। अत्यन्तै प्रतिस्पर्धात्मक देखिएको खेलमा गण्डकीले पहिलो सेट २५–२२, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१४ को अन्तरले आफ्नो पक्षमा पारेको थियो। गण्डकीको यो जितले च्याम्पियनसिपको उपाधि यात्रामा महत्त्वपूर्ण मनोबल प्रदान गरेको छ।
मंगलबार नै भएको पुरुषतर्फको अर्को खेलमा पर्वत जिल्ला भलिबल संघले अन्तर्राष्ट्रिय टोली माल्दिभ्स भलिबल एसोसियसनलाई सोझो सेटमै हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ। पर्वतले माल्दिभ्सलाई २५–१७, २५–१८ र २५–१६ को सेटमा पाखा लगाएको थियो। योसँगै माल्दिभ्सले प्रतियोगितामा लगातार चौथो हार व्यहोर्नुपरेको छ। पर्वतको यो तेस्रो लगातार जित हो, जसले टोलीलाई तालिकाको माथिल्लो स्थानमा सुरक्षित राख्न मद्दत पुर्याएको छ। यसअघि पर्वतले पुलिस र एपीएफ जस्ता बलिया टोलीलाई समेत पराजित गरिसकेको छ।
महिलातर्फको प्रतिस्पर्धामा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको छ। न्यु डायमन्डको उत्कृष्ट प्रदर्शनका अगाडि पुलिस क्लब निरिह देखिएको थियो। यस्तै, थाइल्यान्ड क्वीन्सले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ। टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी यस प्रतियोगिताको महिलातर्फको फाइनल माघ १६ गते र पुरुषतर्फको फाइनल माघ १७ गते हुनेछ। बुधबार लिग चरणका अन्तिम खेलहरू अन्तर्गत महिलातर्फ एपीएफ र पुलिस तथा न्यु डायमन्ड र थाइल्यान्ड क्वीन्सबीच प्रतिस्पर्धा हुने तालिका छ भने पुरुषतर्फ पुलिस र माल्दिभ्स तथा एपीएफ र आर्मी भिड्नेछन्।



































