पोखरा १४, माघ। सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ यतिबेला मुलुककै राजनीतिक केन्द्रविन्दु बनेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले यस क्षेत्रबाट उम्मेदवारी दर्ता गरेपछि यो क्षेत्र राष्ट्रिय चर्चाको विषय बनेको हो। यसअघि लगातार तीन पटक काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक मधेशको चुनावी मैदानमा उत्रिएका छन्। उनलाई पार्टीले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेको सन्दर्भमा यो निर्वाचन थापाका लागि प्रतिष्ठाको लडाइँ र कडा अग्निपरीक्षा सावित हुने देखिएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले थापाको मधेश उम्मेदवारीलाई समग्र मधेशप्रतिको सम्मान र त्यहाँको भावनालाई राष्ट्रिय नेतृत्वसँग जोड्ने संकल्पका रूपमा अथ्र्याएका छन्।
तर, थापाको बाटो त्यति सहज भने देखिँदैन। यो क्षेत्रमा निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका छन्। सिंहले २०७९ को निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेर आधिकारिक उम्मेदवारलाई पराजित गरेका थिए। मनोनयन दर्ताको अघिल्लो दिन मात्रै रास्वपा प्रवेश गरेका सिंह यसपटक आफ्नो विरासत जोगाउने दाउमा छन्। २०७९ को चुनावमा सिंहले २० हजार १७ मत ल्याएर विजयी हुँदा कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ मत प्राप्त गरेका थिए। यसपटक रास्वपाको संगठनात्मक शक्ति र सिंहको व्यक्तिगत प्रभाव मिल्दा प्रतिस्पर्धा थप कसिलो हुने अनुमान गरिएको छ।
सर्लाही–४ मा प्रतिस्पर्धा बहुआयामिक छ। नेकपा एमालेबाट अमनिशकुमार यादव, जसपा नेपालबाट रामेश्वर राय यादव, जनमत पार्टीबाट राकेश मिश्र र नेकपाका रजनीश राय उम्मेदवार छन्। यो क्षेत्रमा तेस्रो र चौथो हुने उम्मेदवारले पनि उल्लेख्य मत ल्याउने गरेकाले कुनै दुई उम्मेदवारबीच मात्र नभई बहुप्रतिस्पर्धा हुने निश्चित छ। निर्वाचन आयोगको तथ्यांकअनुसार यसपटक ८ हजार ७३१ नयाँ मतदाता थपिएसँगै कुल मतदाताको संख्या १ लाख २१ हजार २३१ पुगेको छ। करिब ७५ हजार सदर मत खस्ने अनुमान गरिएको यस क्षेत्रमा स्थानीय तहको नतिजाअनुसार कांग्रेस र माओवादी केन्द्रको बलियो पकड देखिए पनि व्यक्ति केन्द्रित राजनीतिक प्रभावले नतिजालाई प्रभावित पार्न सक्ने देखिन्छ। यस निर्वाचनले सभापति थापाको राजनीतिक भविष्य र रास्वपाको मधेशमा बढ्दो प्रभावको समेत परीक्षण गर्नेछ।
































