पोखरा १७, पौष। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मुलुक निर्वाचनको माध्यमबाट सुशासन, विकास र समृद्धिको नयाँ युगमा प्रवेश गरिसकेको बताउनुभएको छ। सञ्चार मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको ‘आमसञ्चारलाई व्यावसायिक बनाउन यस क्षेत्रमा विकसित अवधारणा’ सम्बन्धी अन्तरक्रियामा बोल्दै मन्त्री खरेलले अब कुनै पनि राजनीतिक दल निर्वाचनबाट पछि हट्ने अवस्था नरहेको प्रष्ट पार्नुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका खरेलले नयाँ दलहरू चुनावी गठबन्धनमा जुटेको र पुराना दलहरू निर्वाचनको तयारीमा होमिसकेको उल्लेख गर्दै आगामी फागुन २१ गतेको निर्वाचनले देशमा नयाँ मानक स्थापना गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रधानमन्त्री सुशीला कार्की र शीर्ष नेताहरूबिचको सघन छलफलका साथै जेन–जी पुस्ताका प्रतिनिधिहरूसँगको संवादले चुनावी वातावरण निर्माणमा ऐतिहासिक भूमिका खेलेको बताउनुभयो।
मन्त्री खरेलले पछिल्लो समय सञ्चार क्षेत्रले भोगिरहेको संकटप्रति गम्भीर चासो व्यक्त गर्दै समाधानका लागि नवीन प्रविधि र गुणस्तरीय सामग्रीमा जोड दिनुपर्ने धारणा राख्नुभयो। देशमा १५ हजारभन्दा बढी सञ्चार माध्यम हुनु र एउटै व्यक्तिका धेरै न्यूज पोर्टल हुनुले व्यावसायिकतामा प्रश्न उठाएको बताउँदै उहाँले लगानीको अभाव र शिथिल अर्थतन्त्रको प्रत्यक्ष असर मिडियामा देखिएको उल्लेख गर्नुभयो। ‘नयाँ मिडिया’ लाई ‘नयाँ मूलधार’ को संज्ञा दिँदै मन्त्री खरेलले अबका दिनमा डिजिटल प्लेटफर्मलाई नजरअन्दाज गर्न नसकिने र सरकारले यसलाई दर्ता तथा सूचीकरण गरी औपचारिक पहिचान दिने तयारी गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा गण्डकीका मुख्य सचिव डन्डुराज घिमिरे र पत्रकार महासंघका अध्यक्ष रमेश पौडेलले सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिन र विद्युत् महसुलमा छुट जस्ता सहुलियत उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको थियो।































