पोखरा १७, पौष। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको समानुपातिक बन्दसूचीमा मोरङ र चितवन जिल्लाबाट अत्यधिक उम्मेदवारहरू समावेश गरिएको भन्ने चर्चाको कडा रूपमा खण्डन गर्नुभएको छ। बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले बाहिर हल्ला भएजस्तो ती दुई जिल्लाबाट ठुलो सङ्ख्यामा उम्मेदवारहरू नरहेको स्पष्ट पार्नुभयो। सञ्चार माध्यममा आएका समाचारहरू सत्य नरहेको दाबी गर्दै उहाँले आफूले सूची पुन: परीक्षण गर्दा ती जिल्लाबाट मात्र ४ देखि ६ जना साथीहरू समेटिएको पाइएको जानकारी दिनुभयो। २१ जना उम्मेदवारहरू मोरङ र चितवनका हुन् भन्ने कुरामा कुनै सत्यता नरहेको उहाँको भनाइ थियो।

सभापति लामिछानेले ११० जनाको पूर्ण सूचीमा ८ देखि १० जना जति चर्चित र चिनिएका अनुहारहरू मात्र देखिएकाले सर्वसाधारणमा निश्चित क्षेत्रको मात्र प्रतिनिधित्व भएको भ्रम परेको उल्लेख गर्नुभयो। चर्चित अनुहारहरूको मात्र चर्चा हुँदा जुम्ला लगायतका विकट क्षेत्र र पिछडिएका समुदायबाट आएका उम्मेदवारहरूको प्रतिनिधित्व ओझेलमा परेको उहाँले बताउनुभयो। रास्वपाको समानुपातिक सूचीमा मधेश, हिमाल, पहाड र सबै वर्गको समान र समावेशी प्रतिनिधित्व रहेको दाबी गर्दै उहाँले बाहिरी हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो। उहाँका अनुसार पार्टीले भूगोल र समावेशितालाई ध्यानमा राखेर नै उम्मेदवारहरूको चयन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0