
पोखरा १०, पौष। निवर्तमान गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गते घटेको घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिने बताएका छन्। बिहीबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आयोगले सोधपुछका लागि बोलाएकाले आफू उपस्थित हुने निर्णयमा पुगेको जानकारी दिए। लेखकका अनुसार आयोगले उनलाई घटनाबारे थप जानकारी लिन र तत्कालीन अवस्थाको स्पष्टीकरणका लागि बोलाएको हो।
आयोगले उनलाई भोलि शुक्रबारकै लागि बोलाएको भए तापनि उनले आफ्नो कार्यव्यस्तताका कारण सोमबार मात्र उपस्थित हुने बताएका छन्। उनले सञ्चारकर्मीहरूसँग भने, ‘उहाँहरूले भोलिका लागि बोलाउनुभएको रहेछ, तर मैले सोमबार आउँछु भनेको छु। म आउँदो १४ गते सोमबार आयोगमा गएर आफ्ना कुराहरू राख्नेछु।’ यो घटना र आयोगको छानबिनलाई राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ।






























