पोखरा १०, पौष। युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुस २९ देखि माघ ११ गतेसम्म सञ्चालन हुन लागेको १४ औं पोखरा महोत्सवको तयारीलाई तीव्र पारिएको छ। पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने यस महोत्सवको व्यवस्थापन र पूर्वतयारीका सम्बन्धमा मंगलबार महोत्सवका विभिन्न उपसमिति र सल्लाहकारहरूको संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी सल्लाहकार तथा शिक्षाविद्हरूले महोत्सवलाई केवल मनोरञ्जनमा मात्र सीमित नगरी वर्तमान समय र परिस्थिति अनुसार सामाजिक उत्तरदायित्वसँग जोडेर लैजानुपर्नेमा जोड दिएका छन्। सल्लाहकार डा. कृष्ण केसीले युनाइटेड क्लवले स्थापनाकालदेखि गरेका सामाजिक कार्यहरूको उपलब्धिलाई महोत्सवमार्फत सार्वजनिक गर्नुपर्ने र सरकारी निकायसँगको सहकार्यमा सेती नदी संरक्षणका लागि ठोस पहल गर्नुपर्ने बताए।
महोत्सवलाई थप रचनात्मक बनाउन विभिन्न सल्लाहकारहरूले महत्वपूर्ण सुझावहरू दिएका छन्। अमरसिंह माविका निमित्त प्रधानाध्यापक सुदीप आचार्यले विद्यार्थीहरूले निर्माण गरेका सिर्जनशील सामग्रीहरूको प्रदर्शनलाई महोत्सवमा समेट्न सुझाव दिए भने अन्य सहभागीहरूले पोखराको ३३ वटै वडाको अपनत्व झल्कने गरी कार्यक्रमहरू ल्याउनुपर्ने बताए। बैठकमा साहित्य, कला र संस्कृतिको जगेर्नाका साथै वातावरणमैत्री ढंगले महोत्सव सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो। पोखरालाई पर्यटकीय राजधानीका रूपमा प्रवद्र्धन गर्दै स्थानीय चिडियाखानाको प्रचारप्रसार र शिक्षा, स्वास्थ्य एवं खेलकुद क्षेत्रमा क्लवले पुर्याएको योगदानलाई उजागर गर्ने लक्ष्य महोत्सवले राखेको छ।
महोत्सवका मूल समारोह संयोजक लोकबहादुर थापाले यस वर्षको संस्करणलाई विगतभन्दा भव्य र सभ्य बनाउन सबै क्षेत्रको सहयोग रहने अपेक्षा व्यक्त गरे। क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको आम्दानीबाटै पोखरा खुला चिडियाखाना निर्माण सम्भव भएको स्मरण गर्दै अब आगामी दिनमा विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि आवासीय छात्रावास निर्माण गर्ने लक्ष्यमा क्लव केन्द्रित रहने बताए। महोत्सवमा आकर्षक कलाकारहरूको प्रस्तुति, व्यवस्थित पार्किङ र पोखरेलीपन झल्कने सांस्कृतिक प्रदर्शनीहरू मुख्य आकर्षण रहनेछन्। युनाइटेड क्लवले आफ्नो सामाजिक उद्देश्य प्राप्तिका लागि महोत्सवलाई एक बलियो माध्यमका रूपमा उपयोग गर्दै आइरहेको छ।































