पोखरा १०, पौष। गण्डकी प्रदेश सभाले आगजनीको पीडा र भौतिक अभावका बीच माटेपानीस्थित पशु तथा मत्स्य विकास निर्देशनालयको भवनबाट आफ्नो प्रशासनिक कार्य सुरु गरेको छ। गत भदौ २४ गते आन्दोलनकारीको समूहले नदीपुरस्थित ३३ वर्ष पुरानो ऐतिहासिक काठे भवनमा आगो लगाएपछि प्रदेश सभाको सचिवालय र संसदीय इतिहास खरानीमा परिणत भएको थियो। नवनियुक्त सचिव गोविन्द पौडेलले पदभार ग्रहण गरेको २४ घण्टा नबित्दै भएको उक्त विनाशकारी घटनाले प्रदेशको संसदीय अभ्यासलाई महिनौँसम्म अन्योलमा धकेलेको थियो। १५ मिनेटभित्रै मुख्य बैठक हल, सचिवालय र संसदीय दलका कार्यालयहरू ध्वस्त हुँदा वर्षौँदेखि सँगालिएका ऐतिहासिक दस्तावेज, आधुनिक ध्वनि प्रणाली र कम्प्युटरहरू पूर्ण रूपमा नष्ट भएका थिए।

भवन अभावकै कारण केही समय अघिको बैठक मालेपाटनस्थित कृषि विकास निर्देशनालयको हलमा जेनतेन सञ्चालन गरिएको थियो। अहिले सरकारको समन्वयमा २०७५ सालमा निर्माण सम्पन्न भएको माटेपानीको भवनमा सचिवालय सारिएको भए पनि चुनौतीहरू अझै थुप्रै छन्। नयाँ भवनमा सर्दा पुरानो कार्यालयले विद्युतीय बल्ब र तारसमेत खोलेर लगेका कारण भौतिक पूर्वाधार मिलाउन सचिवालयलाई निकै सकस भइरहेको छ। हाल केही कम्प्युटर, प्रिन्टर र फर्निचरहरू उधारोमा ल्याएर काम चलाइएको जिन्सी शाखाले जनाएको छ। आगजनीमा नष्ट भएका महत्वपूर्ण अभिलेखहरूलाई अहिले वेबसाइट र अनलाइन माध्यमबाट पुनः संकलन गर्ने प्रयास भइरहेको छ। सचिवालयले मर्मत सम्भार र नयाँ सामग्री खरिदका लागि अर्थ मन्त्रालयसँग ४६ लाख रुपैयाँ बजेट माग गरेको छ, तर बजेट नआउन्जेल ‘उधारो’ कै भरमा दैनिक कार्य सम्पादन भइरहेको छ।

माटेपानीको नयाँ भवनमा सभामुख, उपसभामुख र कर्मचारीका लागि कार्यकक्ष तयार भए पनि प्रदेश सभाको पूर्ण बैठक बस्ने हल अझै तयार भइसकेको छैन। संसदीय दल र समितिका बैठकका लागि कोठा अभाव हुँदा आलोपालो प्रणाली अपनाउनुपर्ने बाध्यता छ। यता नदीपुरमा ध्वस्त भएको पुरानो भवनको पश्चिमतर्फ २५ करोड ३७ लाख रुपैयाँको लागतमा नयाँ सुविधासम्पन्न प्रदेश सभा भवन निर्माण भइरहेको छ। उक्त भवन निर्माण सम्पन्न हुन अझै कम्तीमा दुई वर्ष लाग्ने देखिएकाले आगामी केही समय गण्डकी प्रदेश सभाले माटेपानीकै सीमित स्रोत र साधनबाट आफ्नो यात्रा अगाडि बढाउनुपर्ने देखिन्छ। खरानी भएको इतिहासलाई प्रविधिको माध्यमबाट पुनः निर्माण गर्ने र संसदीय प्रक्रियालाई जीवित राख्ने यो प्रयास चुनौतीपूर्ण भए पनि सचिवालयका कर्मचारीहरू यसमा दृढताका साथ जुटिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0