पोखरा १०, पौष। हिउँदयाम सुरु भएसँगै मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य कमी आएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन्। नियमित उडान भर्दै आएका समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ भएका कारण उडान बन्द गर्ने निर्णय गरेका हुन्। नागरिक उड्डयन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भए पनि चार्टर उडान र आपत्कालीन हेलिकप्टर सेवा भने सुचारु रहनेछन्। तारा एयरलाइन्सले डिसेम्बर ४ देखि मार्च १ सम्मका लागि उडान स्थगित गरेको छ भने समिट एयरलाइन्सले पनि दुई महिनाका लागि आफ्नो सेवा रोकेको छ।

हिउँदयाममा मुस्ताङमा चल्ने तीव्र हावाहुरी र खराब मौसमका कारण पोखरा–जोमसोम उडान प्राविधिक रूपमा समेत जोखिमपूर्ण र प्रभावित हुने गर्दछ। उडान स्थगित हुनुमा मौसम मात्र नभई सडक सञ्जालको सहजतालाई पनि एक प्रमुख कारण मानिएको छ। पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक खण्ड स्तरोन्नति भई यातायात सहज हुन थालेपछि हवाई मार्ग प्रयोग गर्ने यात्रुको सङ्ख्यामा गिरावट आउन थालेको छ। स्थलमार्गबाट मुस्ताङ पुग्न सजिलो भएपछि धेरैजसो आन्तरिक तथा बाह्य पर्यटकले सडककै विकल्प रोज्दा उडान सञ्चालन गर्न आर्थिक रूपमा समेत चुनौतीपूर्ण बनेको वायुसेवा सञ्चालकहरूले बताएका छन्। यसले गर्दा आगामी वसन्त ऋतु सुरु नभएसम्म मुस्ताङको आकाशमा नियमित जहाजको उडान देख्न पाइने छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0