पोखरा १०, पौष। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मुलुकको समृद्धिको वास्तविक साँचो युवाहरूको हातमा रहेको उद्घोष गरेका छन्। बिहीबार काठमाडौंको दशरथ रंगशालामा आयोजित त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले दीक्षित विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरू सामना गर्न तयार रहन आग्रह गरे। उनले विद्यार्थीहरूले प्राप्त गरेको उपाधिलाई अनवरत जिज्ञासा, कठोर परिश्रम र असफलतासँगको संघर्षबाट प्राप्त विजयको प्रतीकका रूपमा चित्रण गरे। मन्त्री पुनले २१औँ शताब्दीमा डिग्री मात्र पर्याप्त नहुने भन्दै अबको विश्वले व्यक्तिको कार्यक्षमता र समस्या समाधान गर्ने खुबीलाई मात्र सम्मान गर्ने धारणा व्यक्त गरे।

उनले विद्यार्थीहरूलाई आफ्नो ज्ञान र सिपले समाजको कुन समस्या समाधान गर्न सक्छ भनेर निरन्तर आत्ममन्थन गर्न सुझाव दिए। मन्त्री पुनले नेपालको प्रयोगशाला र कार्यशालाहरूलाई प्रत्यक्ष रूपमा राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने सरकारको दृढ संकल्प रहेको स्पष्ट पारे। उनले देशमा उपलब्ध जलस्रोत, खनिज, जैविक विविधता र परम्परागत ज्ञानलाई व्यावहारिक अनुसन्धान र उद्यमसँग नजोडेसम्म नेपाल आत्मनिर्भर बन्न नसक्ने ठोकुवा गरे। युवाहरूलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणको मुटु बन्न र प्रविधि एवं समाज विकासको पुलका रूपमा काम गर्न उनले आह्वान गरे। दीक्षित विद्यार्थीहरूले यस मर्मलाई बुझेर देश निर्माणमा लाग्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0