पोखरा १०, पौष। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आज ललितपुरको कुपण्डोलमा एक महत्वपूर्ण र नाटकीय भेटवार्ता भएको छ। मेयर शाहका सहयोगी कुमार बेनको निवासमा भइरहेको यो संवादलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। देशको पछिल्लो राजनीतिक अवस्था र नयाँ शक्तिहरूको सहकार्यका विषयमा दुई प्रभावशाली नेताहरूबीच घनीभूत छलफल भइरहेका बेला वार्तास्थलमा एउटा अनौठो दृश्य देखिएको छ। जेनजी (Gen-Z) समूहका अगुवा सुदन गुरुङले दुई नेताहरूबीच ठोस सहमति नभएसम्म उनीहरूलाई बाहिर निस्कन नदिने भन्दै घरको मुख्य गेटमा ताला लगाइदिएका छन्।
सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै गुरुङले रवि र बालेन दुवै नेताहरू भित्रै रहेको र उनीहरूबीच एकता वा सहकार्यको सहमति नभएसम्म गेट नखोलिने अडान व्यक्त गरेका छन्। भिडियोमा उनले आफूहरू सुरक्षागार्डको रूपमा गेटमै बसेको र चाबी आफूसँगै सुरक्षित रहेको बताएका छन्। उनले भनेका छन्, “हाम्रा दुईजना नेताहरू भित्र हुनुहुन्छ। जबसम्म उहाँहरू दुई जना मिल्नुहुन्न, तबसम्म यो गेट खोलिँदैन।” भिडियोको पृष्ठभूमिबाट कसलाई थुनिएको हो भन्ने प्रश्न आउँदा उनले स्पष्टसँग मेयर बालेन र रवि लामिछानेको नाम लिएका छन्। यो कदमले वार्तालाई झनै दबाबपूर्ण र चर्चाको विषय बनाएको छ।
रवि लामिछाने र बालेन शाहबीच यसअघि पनि पटक-पटक भेटवार्ता भए तापनि ठोस राजनीतिक सहकार्यको खाका तयार हुन सकेको थिएन। आजको यस भेटलाई ‘निर्णायक’ भनिएको छ र समर्थकहरूले दुई शक्ति एकै ठाउँमा आउनुपर्ने दबाब दिँदै आएका छन्। वार्तास्थल बाहिर सुदन गुरुङ लगायतका युवाहरूको टोलीले कडा पहरा दिइरहेको छ। उनीहरूले नयाँ र वैकल्पिक शक्तिहरू नमिल्दासम्म देशको निकास असम्भव रहेको भन्दै नेताहरूलाई मिल्नका लागि यस्तो सांकेतिक तथा दबाबमूलक कदम चालेको बुझिएको छ। अहिले दुई नेताहरूबीच ‘वान टू वान’ वार्ता जारी रहेको र बाहिर समर्थकहरूको चासो बढ्दो क्रममा रहेको छ।






























