पोखरा १०, पौष। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच आज महत्वपूर्ण राजनीतिक भेटवार्ता भएको छ। ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको निवासमा दुई नेताबीच केही समयदेखि घनीभूत छलफल भइरहेको बुझिएको छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र वैकल्पिक शक्तिको भूमिकाका विषयमा केन्द्रित रहेर उनीहरूबीच कुराकानी भएको स्रोतले जनाएको छ।

यसैबीच, रवि र बालेनबीचको वार्ता चलिरहेकै अवस्थामा विघटित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उक्त वार्तास्थल पुगेका छन्। सिंहको आगमनले यस भेटलाई थप अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, अहिले मुख्य रूपमा सभापति लामिछाने र मेयर शाहबीच ‘वान टू वान’ (एक-एक) वार्ता भइरहेको छ। समसामयिक राजनीति, नयाँ शक्तिहरूको एकता र आगामी कार्यदिशाका विषयमा दुई नेताहरूले गहन विमर्श गरिरहेको बताइएको छ। यो भेटघाटलाई नेपाली राजनीतिमा उदयमान वैकल्पिक शक्तिहरूबीचको सहकार्यको प्रयासका रूपमा विश्लेषण गर्न थालिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0