पोखरा २१, मंसिर। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेल अत्यन्तै रोमाञ्चक ‘लो स्कोरिङ’ थ्रिलर बन्दा कर्णाली याक्सले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको छ। कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो। जनकपुरलाई अन्तिम ओभरमा जितका लागि १४ रन आवश्यक भए पनि उसले १० रन मात्र जोड्न सक्यो र २ विकेट गुमायो।
कर्णालीका लागि इमरान शेखले सर्वाधिक ३३ रन बनाएका थिए भने कप्तान सोमपाल कामीले १८ र गुल्सन झाले १९ रनको योगदान दिएपछि कर्णालीले ९ विकेटको क्षतिमा १२९ रन जोडेको थियो। जनकपुरका लागि जवाफी ब्याटिङमा कृष्णमुर्तीले ३९ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए पनि जितका लागि पर्याप्त भएन। उनले २९ रनमा ४ विकेट गुमाएको अवस्थामा संगीथ कुरे (२५ रन) सँग ७५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। तर, १७औँ ओभरमा कुरे आउट भएपछि खेल कर्णालीतर्फ मोडिएको थियो। बलिङतर्फ कर्णालीका विलयम बोसिस्टोले २ विकेट लिए भने मार्क बोसिस्टो, पवन सर्राफ, नन्दन यादव र सोमपाल कामीले १-१ विकेट लिए। यस सिजनमा दोस्रो जित हात पारेको कर्णालीले ७ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा रहेर लिग सकायो। यता, डिफेन्डिङ च्याम्पियन जनकपुर भने जम्मा २ अंकसहित पुछारमा रह्यो।































