पोखरा २१, मंसिर। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, प्रदेश कार्यसमिति गण्डकीको सातौँ साधारणसभा तथा तेस्रो अधिवेशनको अवसरमा पत्रकार, कलाकार र प्रतिष्ठानका सचिवसहित विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ। सिटिवान टेलिभिजनका समाचार प्रमुख राजाराम पौडेललाई सिम गुरुङद्वारा स्थापित तीर्थसागर स्मृति पत्रकारीता पुरस्कार अर्पण गरिएको छ। सोही कार्यक्रममा नवलपुरकी कलाकार शिवु गिरीलाई सरीता गायक र दिलिप गायकद्वारा स्थापित नरबहादुर परियार स्मृति कलाकारीता पुरस्कारबाट सम्मान गरियो। यसैगरी, प्रतिष्ठान म्याग्दीका सचिव करण कँडेललाई शेरबहादुर गुरुङ र गंगा गुरुङ उच्च शिक्षा पुरस्कार प्रदान गरिएको छ। उनीहरूलाई प्रतिष्ठानका पूर्वकेन्द्रीय अध्यक्षहरू प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने लगायतका पदाधिकारीहरूले दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजापति पराजुलीले संस्थामा गरेको योगदानको उचित मूल्याङ्कन गरेर नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए। उनले कार्यसमिति चयन भइसकेपछि गुनासो गर्नुभन्दा अधिवेशनको समयमा नै सोचविचारसहित मत दिन आग्रह गरे। प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेले पनि प्रतिनिधि चयन गर्दा लापरवाही नगर्न र साँचै नै गीत सङ्गीतमा योगदान दिएका व्यक्तिलाई मात्र समेट्न आग्रह गरे। कार्यक्रममा प्रतिष्ठानका प्रथम उपाध्यक्ष तथा निर्वाचन संयोजक रामजी खाँण, सचिव जीवन दाहाल, सचिव घनश्याम रिजाल लगायतले लोक संस्कृतिको जगेर्ना गर्नेबारे बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0