पोखरा २१, मंसिर। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले माया गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचन अधिकृत नारायण शर्माका अनुसार वरिष्ठ उपाध्यक्षमा रामजी पौडेल, प्रथम उपाध्यक्षमा आरसी पौडेल, द्वितीय उपाध्यक्षमा होम गुरुङ, महिला उपाध्यक्षमा मञ्जु विक, सचिवमा कृष्ण सुवेदी, कोषाध्यक्षमा सविना गुरुङ, सहसचिवमा टेक क्षत्री र सहकोषाध्यक्षमा सपना परियार निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष गुरुङले गण्डकीमा पहिलो पटक महिलाले नेतृत्व गर्ने अवसर पाएकोमा सबैको सहयोग र विश्वासप्रति आभार व्यक्त गर्दै संस्थापकदेखि सबै पूर्व अध्यक्षहरूले थालनी गरेका अपुरा कामलाई पूरा गर्ने प्रतिबद्धता जनाइन्। उनले प्रतिष्ठानलाई बिगार्न भन्दा सपार्न र सिँगार्नमा ध्यान दिने बताएकी छिन्।
अधिवेशनको उद्घाटन समारोहमा अग्रज कलाकार शिवु गिरीलाई नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कारबाट सम्मान गरिएको थियो। यस्तै, तीर्थ सागर सुवेदी स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार राजाराम पौडेललाई सम्मान गरियो। प्रतिष्ठान गण्डकीका जिल्लाहरूमध्ये पर्वतलाई उत्कृष्ट जिल्लाको रूपमा सम्मान गरिएको छ भने उच्च शिक्षा पुरस्कार प्रतिष्ठान म्याग्दीका सचिव करण कँडेललाई प्रदान गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले दोहोरी गीत प्रतियोगितामा प्रतिष्ठानका सबै अध्यक्षले प्रतिस्पर्धा गर्दा आफू निर्णायक बनेको स्मरण गरे। प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष पुरुषोत्तम न्यौपानेले देशकै ठूलो संस्थाको रूपमा रहेको प्रतिष्ठानमा कलाकारहरूको आकर्षण बढेको बताए।































