पोखरा २१, मंसिर। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सामुदायिक सेवा केन्द्र पोखरा ९ पृथ्वीचोक र रोटरी क्लब अफ पोखरा मिडटाउनको संयुक्त आयोजनामा महिलाको सशक्तीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सेवा केन्द्रको रजत वर्षको सन्दर्भमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारीले सञ्चार प्रविधिको विकाससँगै पछिल्लो अवधिमा लैंगिक हिंसाका स्वरूप फेरिएको बताइन्। उनले विगतमा शारीरिक, मानसिक, राजनीतिक र आर्थिक रूपमा महिलामाथि हिंसा हुने गरेकोमा अहिले सामाजिक सञ्जालको म्यासेज बक्समार्फत हिंसा सुटुक्क रूपमा भित्रिएको र फोटो तथा तस्वीर सार्वजनिक गरेर चरित्र हत्या गर्ने काम बढेको उल्लेख गरिन्। भण्डारीले प्रविधिको प्रयोग गरेर तर्साउने पीडकविरुद्ध सोही अनुसारको कानुनी उपचार खोज्न आवश्यक रहेको सुझाव दिइन्।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले लैंगिक हिंसा न्यूनीकरणका लागि नेपाल प्रहरीले शून्य सहनशीलताको नीति अपनाएर काम गरिरहेको जानकारी दिए। उनले जानेर वा नजानेर घरभित्रबाट समेत महिलामाथि हिंसा हुने गरेको सङ्केत गर्दै नेपाल प्रहरीले महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमार्फत पीडितका सवाल सुनेको र साइबर ब्युरो तथा मानव बेचबिखन ब्युरोमार्फत घटनालाई सम्बोधन गरेको बताए। कार्यक्रममा रोटरी क्लबका अध्यक्ष उपेन्द्र पौडेल र दुखाई रोग विशेषज्ञ डा. हरि पौडेलले सहजीकरण गरेका थिए भने सामुदायिक सेवा केन्द्रका निवर्तमान अध्यक्ष कमल बहादुर श्रेष्ठले समुदाय स्तरमा सचेतनामूलक कार्यक्रम गरेको बताए।































