पोखरा २१, मंसिर। नेपाललाई सडक आश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन महाअभियान’ सञ्चालन गरिरहेको मानवसेवा आश्रमले देशका २१ जिल्लामा ३० वटा सेवा केन्द्र विस्तार गरेको छ। यस वर्ष काठमाडौँको रानीवन र सुनसरीको धरानमा नयाँ सेवा केन्द्र थपिएको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। उनका अनुसार विसं २०७३ मा मकवानपुरको हेटौंडाबाट औपचारिक सेवा सुरु गरेको आश्रमका देशभरका सेवा केन्द्रमा हाल दुई हजारभन्दा बढी अशक्त, बेसहारा र अभिभावकविहीन व्यक्तिहरूले आश्रय लिइरहेका छन्। अध्यक्ष अधिकारीले ‘नेपाललाई मानवीयताको देश’ बनाउने लक्ष्यमा आश्रम दृढ रहेको भन्दै चाँडै नै नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र घोषणा गरिने विश्वास व्यक्त गरे।

शाखा र सेवा केन्द्र विस्तारसँगै आश्रमका आफ्नै भवनलगायत संरचना निर्माणको काम पनि भइरहेको छ। सह–कोषाध्यक्ष सुमिरा लामाका अनुसार केन्द्रीय कार्यालय हेटौंडासहित रुपन्देही र चितवनका भवनहरूबाट सेवा सञ्चालनमा आइसकेको छ भने मोरङ, झापा, सर्लाही, पर्सा, धनगढी, काठमाडौँ, ललितपुर, सुर्खेतलगायत गण्डकी प्रदेशका कास्की, बागलुङ, लमजुङ र गोरखामा पनि भवन निर्माणाधीन अवस्थामा छन्। बागलुङमा निर्माणाधीन भवनका लागि स्रोत जुटाउन हालै आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट रु नौ करोड ७७ लाख ७२ हजार सङ्कलन भएको थियो। मानवसेवा आश्रमले अहिलेसम्म २८ सयभन्दा बढीको पारिवारिक पुनर्मिलन गराएको छ भने २२ सयभन्दा बढी उपचारपछि स्वेच्छाले आश्रमबाट बाहिरिएका छन्। आश्रमले तत्कालीन योजनामा सडकआश्रित मानवरहित नेपाल घोषणा, मानवता अध्ययन केन्द्र र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र स्थापनालाई अघि सारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0