पोखरा २१, मंसिर। नेकपा (एमाले) को आगामी मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन हुने ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुनका लागि अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पार्टीका सदस्यहरूको घरघरमा पत्र पठाउन थालिएको छ। पार्टीका बागमती प्रदेश इञ्चार्ज एवं महाधिवेशनका लागि गठित जनपरिचालन कमिटीका सचिव डा. राजन भट्टराईले लोकतन्त्रका पक्षधर शक्ति एकजुट हुनुपर्ने आवश्यकता महसुस गराउने गरी अध्यक्ष ओलीको पत्र तयार पारी पठाइएको बताएका छन्।
अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा महाधिवेशनलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिएका छन्। उनले वर्तमान राजनीतिक परिस्थितिलाई ‘गम्भीर चुनौतीको समय’ भनी टिप्पणी गरेका छन्। ओलीले एमालेलाई राष्ट्रियताको पहरेदार, लोकतन्त्रको सारथी, सामाजिक न्याय र सुरक्षाको सूत्रधार, सुशासन र विकासको नायक तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सपना पूरा गर्ने पार्टीका रूपमा चित्रण गरेका छन्। मंसिर २७ गते दिउँसो १२:३० बजे उद्घाटन हुने महाधिवेशनका लागि एमालेले विशेष गरी बागमती, गण्डकी र मधेस प्रदेशका कार्यकर्ता तथा जनसमुदायलाई उपस्थित गराउने योजना बनाएको सचिव डा. भट्टराईले जानकारी दिए।































