पोखरा २१, मंसिर। सुनसरी जिल्लामा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादनमा उल्लेख्य कमी आएको छ। जिल्लास्थित कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार गत वर्षको तुलनामा यस वर्ष कुल ५ हजार ३९२ मेट्रिकटन धान उत्पादन घटेको छ। गत वर्ष जिल्लामा २ लाख १७ हजार ६८ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष घटेर २ लाख ११ हजार ६७६ मेट्रिकटन मात्र उत्पादन भएको उनले जानकारी दिए।

जिल्लामा कुल ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। गत कात्तिक १३ र १४ गते परेको अविरल बेमौसमी वर्षाले करिब १४ हजार हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुर्‍याएपछि उत्पादनमा यति ठूलो गिरावट आएको हो। सूचना अधिकारी श्रेष्ठले सुरुमा पानी नपरेर रोपाइँ ढिला भए पनि अनुकूल मौसम र रोगकिराको सङ्क्रमण न्यून भएकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको थियो, तर धान पाक्ने र काट्ने समयमा परेको बेमौसमी वर्षाले क्षति पुर्‍याउँदा उत्पादन घटेको बताए। सुनसरीको बराहक्षेत्र, रामधुनी, कोशी, इनरुवा, देवानगञ्ज, बर्जु र दुहबी क्षेत्रहरू जिल्लाका प्रमुख धान उत्पादन क्षेत्रहरू हुन्, जहाँ किसानहरूले राधा, बारतरहरा, सावित्री, सुनौलो सुगन्ध, लोकतन्त्र, कालो पोके, लोकनाथ, राम र बास्मती जातका धान खेती गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0