पोखरा २१, मंसिर। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (आइतबार) विशेष अदालतमा उपस्थित गराएको छ। उनीविरुद्ध हाल विशेष अदालतमा भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा सुनुवाइ भइरहेको छ। अख्तियारको हिरासतबाटै विशेष अदालत पुर्याइएका अधिकारीलाई अख्तियारले सोही मुद्दामा यही मंसिर १७ गते पक्राउ गरेको थियो। यसअघि मंसिर १९ गते थुनछेक बहसका क्रममा न्यायाधीशले मुद्दा हेर्न नमिल्ने प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको थियो।
आज विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ। यसैबीच, अधिकारीविरुद्ध विशेष अदालतमा अर्को पनि भ्रष्टाचार मुद्दा दर्ताको प्रक्रियामा रहेको स्रोतले जनाएको छ। भक्तपुर हेलिपोर्टको भ्रष्टाचारबारे सुनुवाइ चलिरहँदा अख्तियारले उनीसहित ५६ जनालाई प्रतिवादी बनाएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचारको आरोपपत्र पनि दर्ताका लागि लगेको हो। यसरी महानिर्देशक अधिकारीविरुद्ध एकैसाथ विशेष अदालतमा दुईवटा भ्रष्टाचारका मुद्दा पुगेका छन्।






























