पोखरा २१, मंसिर। सडक डिभिजन हेटौंडाले हेटौंडा बजारको मुख्य सडक विस्तार कार्यलाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण तत्कालका लागि स्थगित गरेको छ। हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम २०८२ लाई स्थगित गरिएको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए। सडक डिभिजनले शनिबार एकैदिन करिब ५०० घर भत्काएको थियो र सर्वोच्च अदालतबाट मंसिर १९ गते उत्प्रेषण आदेश जारी भई मंसिर २१ गते म्याद तामेल भएपछि सडक विस्तारको काम रोकिएको हो।
स्थानीय पूर्वप्रतिनिधिसभा सदस्य विन्दवासिनी कंसाकारले दायर गरेको रिटमाथि न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सडक डिभिजन कार्यालय हेटौंडाको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो। डिभिजनले मंसिर ५ गते महेन्द्र राजमार्गको रातोमाटेदेखि राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तारका लागि घरटहरा हटाउन १५ दिने अल्टिमेटम दिँदै सूचना निकालेको थियो। अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्ष राखी छलफल गर्नुपर्ने भन्दै छलफलका लागि मंसिर २६ गते पेशी तोकेको छ।






























