पोखरा २१, मंसिर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कुल ११४ वटा राजनीतिक दलहरू सहभागी हुने भएका छन्। यीमध्ये १०२ वटा राजनीतिक दलहरूले एक्लाएक्लै निर्वाचनमा जानेगरी निवेदन दिएका छन् भने १२ वटा दलहरूले संयुक्त रूपमा एकल चुनाव चिह्न प्रयोग गरेर निर्वाचनमा भाग लिने भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले कुल १२० वटा निवेदन प्राप्त भएकोमा ११४ दललाई निर्वाचनमा भाग लिन स्वीकृत दिइएको जानकारी दिए।

प्रवक्ता भट्टराईका अनुसार १२ वटा राजनीतिक दलहरूले विभिन्न समूह (कुनैमा दुई, कुनैमा तीन दल) बनाएर पाँच वटा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिनेछन्। यसरी कुल ११४ वटा दलहरू १०७ वटा चुनाव चिह्नमार्फत प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएका छन्। आयोगले सबै राजनीतिक दलहरूको निवेदन स्वीकृत गरिसकेको छ। आयोगले आइतबारबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सुरु गरेको छ। समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मङ्गलबारसम्म निवेदन दिन सक्नेछन्। प्राप्त निवेदनउपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ। त्यसैगरी, आगामी पुस १३ र १४ गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने समय तोकिएको छ, जसमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने आयोगले जनाएको छ। प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कार्यतालिका आगामी माघ ६ गतेका लागि तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0