पोखरा १२, मंसिर। ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरा पर्यटन परिषद्ले आगामी शनिबार (मंसिर १३ गते) दोस्रो संस्करणको दाइँ महोत्सव (धान चुट्ने पर्व) आयोजना गर्ने भएको छ। स्थानीय टोल विकास संस्थासँगको सहकार्यमा पोखरा महानगरपालिका–१९, पुरुन्चौरको चुरुङ्गामा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म महोत्सव सञ्चालन हुने बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो। कार्यक्रम संयोजक हरि भुजेलले कृषिमार्फत आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन तथा नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताए। उनले असारको रोपाइँ महोत्सवमा सहभागी विदेशी पर्यटकले धान रोप्ने प्रक्रियामा मात्र नभई धान कसरी फल्छ र चुटिन्छ भन्नेबारे पनि चासो राख्ने भएकाले दाइँको प्रक्रिया बुझाउन यो महोत्सव आवश्यक भएको उल्लेख गरे।

महोत्सवमा विविध प्रतियोगितात्मक कार्यक्रमहरू समावेश छन्। तीमध्ये उत्कृष्ट गोरू पालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने (दँदेरो) प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, र गुन्द्री बुन्ने प्रतियोगिता मुख्य आकर्षण हुन्। संयोजक भुजेलका अनुसार, उत्कृष्ट गोरू पालक प्रतियोगितामा प्रथम हुने पुरुन्चौरका कृषकले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। अन्य प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। उत्कृष्ट धान उत्पादक प्रतियोगिताका लागि महानगरको ३३ वडाभित्रका कृषक हुनुपर्ने र धान उत्पादनको विवरण खुल्ने सिफारिस वडा र कृषि महाशाखाबाट ल्याउनुपर्नेछ। महोत्सवमा पुरुन्चौरका स्थानीय, पोखरेली, स्वदेशी र विदेशी गरी करिब ८०० देखि १,००० पर्यटक सहभागी हुने आयोजकको अनुमान छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0