पोखरा ११, मंसिर। पच्चीसौँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता आगामी माघ २७ गतेदेखि फागुन ९ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट समय तालिका प्राप्त भइसकेको आयोजक सहारा क्लब पोखराले आज (मंसिर ११ गते) पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरूलाई आमन्त्रण गरिने यस प्रतियोगिताको तयारी अगाडि बढाइएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए। उनका अनुसार प्रतियोगितामा विदेशी केही टोलीसहित नेपालका स्तरीय क्लबले भाग लिनेछन्, तर सहभागी हुने टोलीको सङ्ख्याको टुङ्गो भने अझै लागिसकेको छैन।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्ड कपसँगको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले यो प्रतियोगिताले फुटबलका माध्यमबाट पोखरालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने काम गरेको भन्दै फुटबलको विकासका लागि महानगरपालिका सहकार्य गर्न तयार रहेको बताए। प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका, विशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल सङ्घ र कास्की जिल्ला फुटबल सङ्घ रहेका छन् भने पोखरा महानगरपालिका–९ कार्यालय उप-प्रायोजक रहेको छ। गत वर्ष भएको २४औँ संस्करणको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जितेको थियो भने नेपाल पुलिस क्लब उपविजेता बनेको थियो।

सहारा क्लबले यो प्रतियोगिताबाट सङ्कलन भएको रकम ‘सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’ सञ्चालनमा खर्च गर्दै आएको छ। क्लबले पत्रकार सम्मेलनमा गत कात्तिक १४ गते आयोजना गरेको ‘सहारा च्यारेटी डिनर नाइट’ कार्यक्रमको आयव्ययसमेत सार्वजनिक गरेको छ। उक्त कार्यक्रमबाट रु २४ लाख १९ हजार सङ्कलन भएकामा रु छ लाख ७७ हजार खर्च भई रु १७ लाख ४१ हजार बचत भएको क्लबले जनाएको छ। क्लबका महासचिव गङ्गाराम पौडेलका अनुसार, बचत भएको उक्त रकम एकेडेमी सञ्चालनमा खर्च हुनेछ। पोखराको दोबिल्लामा सञ्चालित सो एकेडेमीमा हाल १६ जिल्लाका ३० किशोरले आवासीय सुविधासहित फुटबल प्रशिक्षण लिइरहेका छन्। विपन्न परिवारका बालक र किशोरलाई एकै ठाउँमा राखेर क्लबले उनीहरूको शिक्षादीक्षाको व्यवस्थासमेत गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0