पोखरा ११, मंसिर। पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मंसिर १७ देखि २१ गतेसम्म ३४औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३औँ क्यान इन्फोटेक (२०८२ पोखरा) सञ्चालन हुने भएको छ। ‘लगानीको सम्वर्द्धनः उद्योग-व्यवसायको प्रवर्द्धन’ भन्ने आदर्श नारासहित आयोजना गरिएको उक्त पाँच दिने मेला पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ। पोखरा उद्योग वाणिज्य सङ्घले मङ्गलबार पत्रकार सम्मेलनमार्फत मेलाको तयारी चलिरहेको जानकारी दिएको छ। यस पटक मेलाको मुख्य सहयात्रीको रुपमा नेपाल मणिपाल शिक्षण अस्पताल रहेको छ।

सङ्घका अध्यक्ष गोकर्ण कार्कीका अनुसार पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरको नारासँग मणिपालको उद्देश्य मिलेकाले यो सहकार्य सम्भव भएको हो। उनले पोखराको भौगोलिक अवस्थिति र हावापानी स्वास्थ्य पर्यटनका निम्ति उचित रहेको र यसबाट मनग्ये विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जना गर्न सकिने धारणा राखे। अध्यक्ष कार्कीले गण्डकी प्रदेशमा व्यावसायिक सम्भावनाको खोजी तथा उद्यमशीलता प्रवर्द्धनको उद्देश्यले मेला आयोजना गरिएको बताए। पोखरालगायत गण्डकी प्रदेशकै औद्योगिक, कृषिजन्य, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रका उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुर्याउने उद्देश्यमा मेला समर्पित रहेको उनको भनाई छ। ‘जेनजी’ प्रदर्शनपछि गिरेको निजी क्षेत्रको मनोबल उकास्न यस्ता मेला–महोत्सवले मद्दत पुग्ने र आर्थिक गतिविधि पनि बढ्ने विश्वास उनले व्यक्त गरे। यसपटक मेलालाई मनोरञ्जनात्मकभन्दा पनि उद्यमशीलता विकासको थलो बनाउनकै लागि समयावधि घटाएर ५ दिनको बनाइएको हो।

मेलामा कुल १२० व्यावसायिक ‘स्टल’ रहने अध्यक्ष कार्कीले जानकारी दिए। औद्योगिक उत्पादन, सूचना-प्रविधिका सामान, हस्तकला, कृषिजन्य उत्पादनलगायतको प्रदर्शनी तथा बिक्री कक्ष रहने जनाइएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान), कास्की शाखाका अध्यक्ष पुरुषोत्तम कुँवरका अनुसार मेलामा सूचना-प्रविधिसँग सम्बन्धित हार्डवेयर र सफ्टवेयर उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष रहनेछ। उनले क्यान महासंघ, कास्कीले विगत १३ वर्षदेखि आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकलाई मेलामा समाहित गर्नुको उद्देश्य सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरूले पछिल्लो समयका प्रविधि र दैनिक जीवनलाई सरल बनाउने उपकरणहरू प्रदर्शनी तथा बिक्रीका लागि राख्नु रहेको बताए। मेलामा केही नयाँ प्रडक्ट लन्च गर्ने तयारीसहित आइसिटीसम्बन्धी अन्तरक्रिया, करिअर काउन्सिलिङ र साइबर सुरक्षाबारे सचेतता फैलाउने लगायतका कार्यक्रमहरू समावेश गरिने कुँवरले जानकारी दिए।

यसका साथै, मेलामा उद्यमशीलता प्रवर्द्धन, लगानीमैत्री नीति, नवप्रर्वतन, सूचना-प्रविधि र कृषिसँग सम्बन्धित विषयमा परिसंवाद कार्यक्रम पनि सञ्चालन गरिने भएको छ। दर्शकको आकर्षण बढाउन परम्परागत एवं मौलिक सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने अध्यक्ष कार्कीले बताए। मेलाको सहआयोजकमा कम्प्यूटर एसोसिएसन अफ नेपाल (क्यान), कास्की, नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश रहेका छन् भने गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड मेलाको प्रवर्द्धकको भूमिकामा रहनेछन्।

मेलामा प्रवेश निःशुल्क गरिएको छ। मेलाबाट रु ५० लाख आम्दानी हुने र रु ४५ लाख खर्च हुने आयोजकको अनुमान छ। मेलाबाट बचत भएको रकम उद्यमशीलता प्रवर्द्धन तथा व्यवसायीको क्षमता अभिवृद्धिमा खर्च गरिने जनाइएको छ। सङ्घले विसं २०४२ मा पहिलोपटक पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गरेको थियो। कार्यक्रमको सञ्चालन महासचिव शोभा गौतमले गरेकी थिइन् भने वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले धन्यवाद ज्ञापन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0