पोखरा २, कार्तिक। प्रहरी हिरासतमा रहेका टीओबी समूहका सदस्य तेन्जिङ दावा लामाको नागरिकता र जन्मदर्ता शंकास्पद देखिएपछि प्रहरीले यस विषयमा थप अनुसन्धान अघि बढाएको छ। प्रहरी उच्च स्रोतका अनुसार, उनले पेस गरेका जन्मदर्ता र नागरिकताका विवरणहरू शंकाको घेरामा परेपछि सत्यतथ्य पत्ता लगाउन अनुसन्धान थालिएको हो। लामाले प्रहरीसमक्ष काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता र नागरिकता उपलब्ध गराएका थिए।

उनले पेस गरेको विवरण अनुसार, जन्मदर्ता विसं २०६३ चैत १० गते र नागरिकता ०७९ साल असार महिनामा जारी भएको देखिन्छ। तर, महानगरपालिकाको वडा कार्यालयले उपलब्ध गराइएको यी विवरणहरू शंकास्पद रहेको जनाएको छ। काठमाडौं महानगरपालिका- ६ का वडाध्यक्ष भुवन लामाले अनलाइनखबरसँग कुरा गर्दै वडा कार्यालयको ढड्डामा उल्लेखित विवरणहरू नरहेको बताएका छन्। ‘हामीले ढड्डामा केही भेटेनौं,’ वडाध्यक्ष लामाले भने, ‘सोही अनुसारको विवरण लेखेर भोलि जिल्ला प्रहरी परिसरमा पनि पत्र पठाउँदैछौं।’ यसले तेन्जिङ दावा लामाको नागरिकता र जन्मदर्ताको आधिकारिकतामा गम्भीर प्रश्न उठाएको छ।

यसअघि लामालाई अभद्र व्यवहारको अभियोगमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत असोज २७ गते ६ दिनको म्याद थप गरेको थियो। उनले पेस्तोल जस्तो देखिने जोखिम हतियार प्रदर्शन गरी आम जनमानसमा डर र त्रास सिर्जना गरेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सामाजिक सञ्जालमा टीओबी लेखिएको ज्याकेट लगाएका एक व्यक्तिले पेस्तोल बोकेर घुमेको भिडियो भाइरल भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो, जसपछि तेन्जिङ आफैँ प्रहरी सम्पर्कमा आएका थिए। यद्यपि, प्रहरीका अनुसार भाइरल भएको उक्त भिडियो जेनजी आन्दोलनको समयको नभई करिब एक वर्ष पुरानो रहेको पत्ता लागेको छ र उनीबाट नक्कली पेस्तोल पनि बरामद भएको छ। अहिले प्रहरीले एकैसाथ अभद्र व्यवहार र नागरिकताको विषयमा अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0