पोखरा १, कार्तिक। तिहारको पूर्वसन्ध्यामा धनुषाको जनकपुरधामस्थित सोनारपट्टी क्षेत्रमा प्रहरी र व्यवसायीहरूबीच भएको झडपले अवस्था तनावग्रस्त बनेको छ। जानकी मन्दिरको दक्षिणपट्टी रहेको सो क्षेत्रमा सञ्चालित सञ्जय ठाकुरको नयाँ ज्वेलर्समा हिजो राति करिब ८ बजे विशेष सूचनाको आधारमा सिभिल पोसाकमा पुगेका प्रहरीले छापा मारेपछि यो घटना भएको हो। झडप नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड हवाइ फायर२ सेल अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यवाहक प्रमुख तथा डिएसपी गणेशबहादुर बमका अनुसार, ज्वेलर्सबाट बिल बिजक नभएको अन्दाजी ७ किलो चाँदी बरामद भएको छ। डिएसपी बमकै कमान्डमा प्रहरी टोली पुगेको थियो। प्रहरीले बरामद चाँदीको मुचुल्का गर्न सुनचाँदी व्यवसायी संघका नेतृत्वलाई बोलाउँदा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी पुगेर चाँदी लैजान नदिने अडान कसेपछि अवस्था बिग्रिएको प्रहरीको भनाइ छ। डिएसपी बमका अनुसार अध्यक्ष भण्डारी आएर ‘पुलिसलाई खेदौं’ भन्दै उच्छृङ्खल शैलीमा आक्रामक भएर हातपात गर्न थालेपछि झडप भएको हो।

यता, उद्योग वाणिज्य संघ जनकपुरका महासचिव फुलदेव पण्डितले भने धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले आतंक सिर्जना गरेको आरोप लगाएका छन्। महासचिव पण्डितका अनुसार, सुरुमा सिभिल पोसाकका पाँचजना प्रहरी पायल बनाउने बहानामा पसलमा पुगेर सबै चाँदी माग्न थाले। पछि २०-२५ जना प्रहरी आएर जबरजस्ती चाँदी लैजान खोजेपछि व्यवसायीहरूले विरोध गर्दा प्रहरीले एकाएक लाठीचार्ज गर्न थालेको र त्यसपछि हवाइ फायर र अश्रुग्यास प्रहार गरेको उनको दाबी छ। यसै क्रममा उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् भने झडपमा १० जना प्रहरी समेत घाइते भएको डिएसपी बमले जानकारी दिए। महासचिव पण्डितले प्रहरीलाई कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

छापा मार्नुअघि धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई प्रहरीले औपचारिक रूपमा जानकारी नगराएको उनले बताएका छन्। यद्यपि, डिएसपी बमले भने राजश्व छलेर चाँदी बेचेको सूचनाका आधारमा राजश्व अनुसन्धान विभाग पथलैयासँग समन्वय गरेरै छापा मारिएको जिकिर गरेका छन्। धनुषाका एसपी नरहरी रेग्मीको सरुवा भइसकेको र डिएसपी बम सरुवा भएर आएको चार दिन मात्र भएको पनि जानकारीमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0