पोखरा १९, असोज। लाङटाङ ट्रेकिङका लागि गएका भक्तपुरका चारजना यात्रु रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४ स्थित बेरिङ खोल्सा तर्ने क्रममा बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजु शाहका अनुसार शुक्रबार ट्रेकिङका लागि हिँडेको १६ जनाको टोलीका सदस्यहरू शनिबार उक्त घटनामा परेका हुन्। निरन्तरको वर्षाले बढेको खोल्सा पालैपालो तर्ने क्रममा सुरुमा आठ जनालाई खोलाले बगाएको थियो।

बगाएकामध्ये तत्काल चार जना सम्पर्कमा आएर सुरक्षित स्थानमा पुग्न सफल भए पनि बाँकी चारजना भने बेपत्ता छन्। बेपत्ता हुनेहरूमा संस्कृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ (मध्यपुर ठिमी नगरपालिका निवासी) र रवि श्रेष्ठ (भक्तपुर-१० निवासी) रहेका छन्। घटनाबारे जानकारी पाउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय रसुवाको टोलीले बेपत्ताहरूको खोजी कार्य जारी राखेको छ। मौसममा आएको प्रतिकूलताका कारण खोल्साको बहाव तीव्र रहेकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ। प्रहरीले सम्भावित क्षेत्रमा गहिरो अनुसन्धान गरिरहेको र चाँडोभन्दा चाँडो बेपत्ता भएकाहरूलाई पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0