पोखरा १९, असोज। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को बैठकमा जेनजीका नेता सुदन गुरुङ सहभागी भई विपद् उद्धारसँग सम्बन्धित विषयमा ठाडो निर्देशन दिएका छन्। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशप्रसाद भट्टसमेत सहभागी भएको बैठकमा गुरुङले दिएको निर्देशनको भिडियो उनले आफैं सार्वजनिक गरेका छन्। गुरुङले विपद्मा अलपत्र परेका मानिसहरूको पहिचान नभएकोमा असन्तुष्टि जनाउँदै तत्काल पहिचान गर्नुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्, ‘जहाँ–जहाँ मान्छे अड्केका छन्, त्यसको पहिचान हुन सकेका छैनन्, त्यो पहिले पहिचान हुनुपर्‍यो नि। तब तपाईंहरूले यो–यो ठाउँमा मान्छे अड्किएको छ, सेल्टर बनाएर राख्दिनुपर्‍यो भनेर भन्न सकिन्छ।’

गुरुङले रासनपानी लगायतका सहयोग राज्यले पछि मिलाउने भए पनि तत्काल खाद्यान्नको अभावलाई सम्बोधन गर्नुपर्ने औंल्याएका छन्। उनले उद्धार कार्यमा एम्बुलेन्सलाई पहिलो प्राथमिकता दिनुपर्ने र त्यसको निक्र्योल गर्नुपर्ने माग राखेका छन्। साथै, उनले विपद् उद्धारका लागि प्राधिकरणसँग भएको तयारीबारे प्रश्न सोधेका छन्। उनले प्राधिकरणसँग भएका टेन्टको सङ्ख्या, सशस्त्र प्रहरीको ‘रिलोकेसन सेन्टर’ मा रासनलगायतका तयारी, स्वास्थ्य शिविरको व्यवस्थापन र मोटरबोटको सङ्ख्याबारे जानकारी लिएका थिए। जवाफमा सीईओ भट्टले केही टेन्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) मा रहेको र भएका टेन्ट प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताएका थिए भने डीएसपीले आफूहरूसँग ९६ र्‍याफ्ट३३ मोटरबोट रहेको जानकारी दिएका थिए। हवाई उद्धारबारेको प्रश्नमा सीईओ भट्टले सेनाका हेलिकप्टर परिचालन भइरहेको जानकारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0