पोखरा १९, असोज। प्रतिकूल मौसमको अवस्थालाई मध्यनजर गर्दै र निरन्तरको वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढेपछि गृह मन्त्रालयले देशभरका जिल्लाहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लगायत सुरक्षा निकायका प्रमुखहरूलाई २४ सै घण्टा कार्यालयमा उपलब्ध हुन र विपद् व्यवस्थापनमा तत्काल जुट्न पत्राचार गरेको छ। यो निर्देशन जोखिममा रहेका जिल्लाहरूको हकमा विशेष रूपमा लागू हुनेछ।

गृह मन्त्रालयले राजमार्गमा रोकिएका सवारी साधनहरूलाई सडक र मौसमको अवस्था मूल्याङ्कन गरेर गन्तव्यसम्म पुर्‍याउने सहजीकरण गर्न निर्देशन दिएको छ। साथै, अलपत्र परेका यात्रुहरूलाई स्थानीय तह र विभिन्न संघसंस्थाहरूसँगको समन्वयमा खानपानको व्यवस्था मिलाउन समन्वय गर्न पनि भनिएको छ। विशेषगरी, राजमार्गमा रोकिएका एम्बुलेन्सलाई अवस्था हेरी सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहयोग गर्ने र अलपत्र परेका गर्भवती महिलाहरूलाई नजिकको बर्थिङ सेन्टरसम्म पुर्‍याउने व्यवस्था मिलाउन विशेष प्राथमिकता दिन निर्देशन दिइएको छ। यसका अतिरिक्त, जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका व्यक्ति तथा परिवारलाई स्थानीय पालिकासँगको समन्वयमा नजिकैका विद्यालय वा खुला स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउन पनि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। यो पहलले मानवीय क्षति न्यूनीकरण गर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0