पोखरा २२, भाद्र। जेन-जी युवाको प्रदर्शनमा भएको सरकारी दमनपछि नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्ववतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का नेताहरूले धमाधम पार्टी र संगठनको सदस्यता त्याग्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र देशमा व्याप्त भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि उनीहरूमा असन्तुष्टि बढेको देखिएको छ। पार्टी नेतृत्वको आलोचनात्मक समर्थनमा रहेका अनेरास्ववियुका विद्यार्थी नेताहरूले अहिले खुलेर सरकारको दमनको विरोध गरिरहेका छन्।

घटनाको चौतर्फी आलोचना भइरहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग बढ्दै गएको अवस्थामा अनेरास्ववियुको निवर्तमान विदेश विभाग प्रमुख तथा नेतृ स्मृति बरालले पार्टी र संगठनका सबै पदबाट अलग भएको घोषणा गरेकी छन्। फेसबुकमार्फत उनले सोमबारको घटनालाई दमनमात्र नभई शासकको दम्भको खुला प्रदर्शन भएको बताएकी छन्। उनले लेखेकी छन्, “आज जुन तरिकाले राज्यले दमन ग¥यो, त्यो केवल दमन मात्र होइन शासकको दम्भको खुला प्रदर्शन हो।” उनले अनेरास्ववियुले आज आफ्नो अस्तित्व जोगाउन असफल भएको भन्दै पार्टीको झण्डा छोडेर देशको झण्डालाई आत्मसात गरेको घोषणा गरेकी छन्।

यसैगरी, अनेरास्ववियु गण्डकी प्रदेश सहसंयोजक विश्वदर्शन पराजुलीले पनि एमालेको पार्टी सदस्यता निष्क्रिय गर्दै अनेरास्ववियुबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले भनेका छन्, “मेरो पार्टी र मेरो पार्टीले नेतृत्व गरेको सरकारले जब म र म जस्ता युवा संगै सिंगो राज्य र जनताप्रति घात गर्छ भने म यसको मतियार बनिरहन सकिन !” जेन-जी आन्दोलनमा सहभागी भएका अर्का विद्यार्थी नेता निकेश गिरीले पनि अनेरास्ववियुको सदस्यता त्यागेको बताएका छन्। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पस अनेरास्ववियुका सचिव रहेका गिरीले सरकारको दमनको विरोध गर्दै फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन्। उनले कुनै बेलाको गौरवशाली संगठन अब नरहेको बताएका छन्।

पार्टी र संगठनभित्र रहेका अन्य सदस्यहरूले पनि सोमबारको घटनाको विरोध गर्दै दोषीमाथि कारबाहीको माग गरिरहेका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र भ्रष्टाचारको विरोधमा पहिलो पटक आन्दोलनमा उत्रिएको जेन-जी पुस्ताको प्रदर्शनमा १९ जनाको ज्यान जानु र सयौं घाइते हुनुले अनेरास्ववियुलाई ठूलो धक्का पुगेको छ। यस घटनाले एमाले नेतृत्वको सरकार र त्यसको विद्यार्थी संगठनबीचको सम्बन्धमा ठूलो दरार उत्पन्न गरेको छ, जसको परिणामस्वरूप विद्यार्थी नेताहरूले धमाधम सदस्यता त्याग गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0