पोखरा २२, भाद्र। जेन-जी युवाहरूमाथि भएको सरकारी दमनको संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय (OHCHR), युनिसेफ र एम्नेस्टी इन्टरनेसनललगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले कडा निन्दा गरेका छन्। यी संस्थाहरूले नेपाल सरकारलाई सुरक्षाकर्मीद्वारा शान्तिपूर्ण प्रदर्शनमा बालबालिका र युवाहरूमाथि गरिएको गैरकानूनी र अत्यधिक बल प्रयोगको तुरुन्त र पारदर्शी छानबिन गर्न माग गरेका छन्।

जेनेभास्थित OHCHR कार्यालयकी प्रवक्ता रविना शाम्दासानीले नेपालमा प्रदर्शनकारीहरूको हत्या र घाइते भएको घटनाबाट आफूहरू स्तब्ध भएको बताएकी छिन्। उनले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भएको प्रदर्शनमा सुरक्षा निकायले आधारभूत सिद्धान्तहरूको पालना नगरेको भन्दै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेकी छन्। प्रवक्ता शाम्दासानीले युवाहरूको चिन्तालाई सम्बोधन गर्न संवाद नै सर्वोत्तम माध्यम भएको बताएकी छन्।

यसैगरी, बालबालिकाको क्षेत्रमा काम गर्ने राष्ट्रसंघीय एजेन्सी युनिसेफले पनि नेपालभरका प्रदर्शनमा बालबालिकामाथि भएको हिंसाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। युनिसेफले बालबालिकामाथि बल प्रयोग स्वीकार्य नभएको र यो तत्काल रोकिनुपर्ने बताएको छ। नेपाल संयुक्त राष्ट्रसंघ बाल अधिकारसम्बन्धी महासन्धिको पक्ष राष्ट्र भएको र त्यसअनुसार बालबालिकालाई सङ्गठित हुने र शान्तिपूर्ण रूपमा भेला हुने अधिकार रहेको कुरा पनि युनिसेफले स्मरण गराएको छ।

मानव अधिकारवादी अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेसनलले पनि प्रहरीले प्रदर्शनका क्रममा घातक बल प्रयोग गरेको भन्दै कडा निन्दा गरेको छ। एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निरन्जन थपलियाले प्रहरीद्वारा भएको गैरकानूनी घातक बल प्रयोगको निन्दा गर्दै सरकारले तत्काल, गहन, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुपर्ने र दोषीलाई पूर्ण रूपमा जवाफदेही बनाउनुपर्ने माग गरेका छन्।

संयुक्त राष्ट्रसंघको नेपाल कार्यालयकी आवासीय संयोजक हना सिंगर–ह्याम्डीले पनि एक्समार्फत नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको अभ्यास गर्न सक्ने कुरा सुनिश्चित गर्न सबै पक्षहरूलाई अधिकतम संयम र सावधानी अपनाउन आग्रह गरेकी छन्। अन्तर्राष्ट्रिय समुदायले नेपालको वर्तमान परिस्थितिमा गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई मानव अधिकारको सम्मान गर्न र संवादको माध्यमबाट समस्या समाधान गर्न दबाब दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0