पोखरा, १४ भाद्र। गुल्मीको उनाएचौरमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण सम्पन्न भई सञ्चालनमा आए पनि जिल्लाका केही क्षेत्रमा विद्युत आपूर्तिको समस्या यथावत् रहेको छ । विशेषगरी इस्मा गाउँपालिकाको हस्तिचौर क्षेत्रमा वर्षौंदेखि अनियमित विद्युत आपूर्ति, कम भोल्टेज र उपकरणमा क्षति पुग्नेजस्ता समस्या कायमै छन् । यसअघि बुटवलको सबस्टेशनबाट गुल्मीमा विद्युत वितरण हुँदा लामो दूरीका कारण समस्या आउने गरेको थियो, जसको समाधानका लागि नै करोडौं रुपैयाँ खर्चेर यो सबस्टेशन निर्माण गरिएको थियो ।
स्थानीयवासीहरूले नयाँ सबस्टेशनले विद्युत समस्या समाधान गर्ने अपेक्षा राखेका थिए, तर हाल पनि घण्टौंसम्म बत्ती नआउने र आए पनि भोल्टेज कमजोर हुने गरेको गुनासो गरेका छन् । यसले गर्दा स्थानीय व्यवसाय र लिफ्ट खानेपानीजस्ता सेवाहरू समेत प्रभावित भएका छन् । छल्दीटारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमबहादुर थापाले विद्युत अनियमिताका कारण खानेपानी वितरणमा समस्या भएको बताए । नेपाल विद्युत प्राधिकरण, गुल्मी वितरण केन्द्रले हस्तिचौर क्षेत्रमा भएको समस्याका कारण विद्युत अनियमित भएको हुनसक्ने जनाएको छ । यस अवस्थाप्रति आक्रोशित स्थानीयवासीले तत्काल समाधान नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।





























