पोखरा, १४ भाद्र। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकको विषय उठाउन सुझाव दिएका छन् । प्रधानमन्त्री ओली आज बिहान हिमालय एयरलाइन्समार्फत सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री चीन प्रस्थान गरेको करिब दुई घण्टापछि सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै मेयर बालेनले भारत र चीनबीचको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने सहमतिले नेपालको सार्वभौमिकतामाथि अतिक्रमण गरेको भन्दै चीनलाई यो कुरा सम्झाउन आग्रह गरेका हुन् ।
उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु, नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला ।’ केही समयअघि नेपाललाई कुनै जानकारी नै नदिई भारत र चीनले लिपुलेक त्रिदेशीय नाकाबाट व्यापार सञ्चालन गर्ने सहमति गरेपछि यस विषयले पुनः चर्चा पाएको थियो । मेयर बालेनको यो सुझावलाई कूटनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।































