पोखरा, १९ श्रावण । जोर्ज जोन शिक्षा प्रतिष्ठानले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसरमा शनिबार पोखरामा आयोजित एक कार्यक्रममा पाँच जना शिक्षासेवीलाई सम्मान गरेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरूलाई सम्मानपत्र, दोसल्ला र नगद पुरस्कारसहित सम्मान गरेका थिए। सम्मानित हुनेहरूमा पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन, पृथ्वीनारायण क्याम्पसका प्राडा लेखनाथ भट्टराई, प्राडा यादव गौडेल, शिक्षासेवी छविलाल आचार्य र स्वास्थ्यकर्मी शकुन सिंह रहेका छन्।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले शिक्षा क्षेत्रमा निरन्तर सेवा पुर्‍याउने व्यक्तित्वहरू समाजका लागि प्रेरणाको स्रोत भएकोमा जोड दिए। प्रतिष्ठानका संस्थापक डा. जोर्ज जोनले शिक्षाको विकास नै समग्र राष्ट्रको विकासको आधार भएको बताए। सोही अवसरमा पृथ्वीनारायण क्याम्पसका विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो। विज्ञान संकायकी कृति भट्टराई, व्यवस्थापनका विजय सुवेदी, मानविकीका विवेक तिवारी र शिक्षा संकायका अमृत पौडेलले उत्कृष्ट नतिजाका लागि सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए।

प्रा.डा. जोर्ज जोन र डा. एलियामा जोनद्वारा स्थापित यस प्रतिष्ठानले विगत तीन दशकदेखि शैक्षिक विकासका लागि काम गर्दै आएको छ। प्रतिष्ठानले शिक्षामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने, विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0