पोखरा, १९ श्रावण । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिचि बगैंचा’ घुस प्रकरणमा नाम जोडिएका आफ्ना दुई सदस्यहरूलाई निलम्बन गरेको छ। शनिबार र आइतबार बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सल्लाहकार परिषद् सदस्य सुजन लामा र उद्योग तथा वाणिज्य विभागका सदस्य के. गिरी लाई निलम्बन गर्ने निर्णय गरेको हो।

प्रदेश कमिटीका सचिव धनञ्जय दवाडीका अनुसार, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग घुसको बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि सुजन लामालाई निलम्बन गरिएको हो। यस प्रकरणपछि गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए। निलम्बनमा पर्नुअघि लामालाई स्पष्टीकरण सोधिएको थियो, तर उनको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बनको कारबाही गरिएको हो।

निलम्बित अर्का सदस्य के. गिरी पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरी रहेको खुलेको छ। निजामती कर्मचारीले पार्टीको सदस्यता लिन नपाउने कानुनी व्यवस्था भए पनि उनले छद्म नाम प्रयोग गरी पार्टीको सदस्यता लिएका थिए। गिरीलाई गत चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरपालिकाका कर्मचारीसँग घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको थियो। दुवै सदस्यलाई मुद्दाको किनारा नलागेसम्मका लागि निलम्बन गरिएको सचिव दवाडीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0