पोखरा, १९ श्रावण । कास्की जिल्ला स्तरीय २१औं तायाःमचा नृत्य प्रतियोगिता यस वर्ष साउन ३१ गते शनिबार लेखनाथको शिशुवा बजारमा आयोजना हुने भएको छ। शिशुवा नेवाः खलको आयोजना र नेवाःखल कास्कीको व्यवस्थापनमा हुने यस प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जानकारी दिएका छन्। तायाःमचा नाचको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुने यो प्रतियोगिता पहिलोपटक पोखरा बाहिर हुन लागेको हो।
नेवारी समुदायमा परिवारका सदस्यको निधन भएको एक वर्षभित्र निकालिने गाईजात्राको एक महत्त्वपूर्ण हिस्सा तायाःमचा नाच हो। यो नाच बाजागाजासहित बजार परिक्रमा गर्ने परम्परा हो। गाईजात्राको दिन रात पर्ने भएकाले त्यसपछिको पहिलो शनिबार प्रतियोगिता आयोजना गर्ने गरिएको मूल संयोजक अर्जुनकुमार ताम्राकारले बताए। यस वर्षको प्रतियोगितामा ३५ वटा टोली सहभागी हुने अनुमान गरिएको छ, जसमा २७ वटा पुरुष र ८ वटा महिला टोली रहनेछन्।
प्रतियोगितामा पुरुषतर्फको विजेताले १,११,१११ रुपैयाँ, दोस्रोले ७७,७७७, तेस्रोले ५५,५५५ र चौथोले २५,५५५ रुपैयाँ प्राप्त गर्नेछन्। महिलातर्फको विजेताले ४० हजार, दोस्रोले ३० हजार, तेस्रोले २५ हजार र सान्त्वनाले २० हजार रुपैयाँ पाउनेछन्। नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले यो नृत्यको संरक्षण र प्रवर्धनमा जोड दिँदै यसले पोखराको संस्कृतिलाई थप उजागर गर्ने बताए।

































